बन्दाबन्दीबारे भोलि बस्ने उच्चस्तरीय समितिको बैठकले मन्त्रिपरिषद्लाई सिफारिस गर्ने

२२ बैशाख ०७७, काठमाडौं । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले बन्दाबन्दीबारे भोलि बस्ने  बैठकले मन्त्रिपरिषद्लाई सिफारिस गर्ने बताएको छ ।

लकडाउन बैशाख २५ गतेसम्म रहेको र त्यसपछि कसरी अगाडि बढ्न सकिन्छ भन्ने समीक्षात्मक बैठक बसेको जानकारी दिँदै समितिका सदस्य नारायणप्रसाद बिडारीले मंगलबार बैठक बसेर मन्त्रिपरिषद्लाई सिफारिस गर्ने बताएका हुन् ।

उनले तराईका केही क्षेत्रहरुमा संक्रमितको संख्या बढिरहेको अवस्थालाई अध्ययन गरेर मात्रै समितिले बन्दाबन्दीबारे मन्त्रिपरिषद्लाई सिफारिस गर्ने बताए ।

उनले संसदीय समितिबाट कम जोखिम देखिएका केही पहाडी क्षेत्रमा लकडाउन हटाउनुपर्छ भन्नेबारे सुझाव आएको र ती सुझावलाई मनन गरिएको जानकारी दिए ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको समितिको २२औँ बैठकले कोरोना नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासहरु सफल भएको निष्कर्ष निकालेको छ ।