निर्वाचन प्रभावित गर्न बम राखेको आरोपमा पक्राउ परेका ३ जना सार्वजनिक

१४ मंसिर ०७४, राजविराज । नेत्र विक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता र दोस्रो चरणको प्रतिनिधि र प्रदेश सभा निर्वाचन प्रभावित गर्ने योजना बनाइरहेका एक जनासहित ३ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

विष्णुपुर गाउँपालिका ६ स्थित धान खेतमा लुकाई राखेको शक्तिशाली प्रेशर कुकर बम राखेको आरोपमा छिन्नमस्ता गाउँपालिका १ का ४० बर्षीय तेज नारायाण यादव र विष्णपुर गाउँपालिका ६ कै ३० बर्षीय संजय कुमार रायलाई पक्राउ गरी प्रहरीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो ।

सार्वजनिक स्थानमा विष्फोट गराउने योजना रहेको समयमै गोप्य सुचना पाएपछि पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले प्रेशर कुकर बम पडकाउन प्रयोग हुने रिमोट कन्टोल समेत बरामद गरेको छ ।

उनीहरुको पक्राउसँगै जिल्लामा हुने ठूलो दुर्घटना टरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी मुकेश सिंहले बताए ।

‘विशेष सूचनाका आधारमा निगरानी र चेक जाँच बढाएका थियौं’ एसपी सिंहले भने, ‘यसमा सफलता पनि मिल्यो ।’

अघिल्लो दिन फेला परेको सो बम तत्कालै सेनाको प्राविधिक टोलीले निष्कृय बनाएको थियो ।

सोही पत्रका सम्मेलनमा सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका १४ का ३४ बर्षीय सूर्य नारायण सुतिहारलाई पनि सार्वजनिक गरिएको थियो ।

प्रहरीले अघिल्लो दिन नै सुतिहारलाई एक थान कटुवा पेस्तोल र सो मा प्रयोग हुने ३ राउण्ड गोलीसहित पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुलाई संगठित अपराध, बम बिष्फोट तथा हाथ हतियार खरखाजाना ऐन अन्तर्गत मुद्दा चलाइने उनले जानकारी दिए ।

तपाइको मत