३० साउन ०७४, बर्दिया । पप्पु कन्स्ट्रक्सनले साढे १६ करोड बढी लागतमा बनाएको बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाट पुल उदघाटन नहुँदै भत्किएको छ ।
यो पुल भत्किएपछि बर्दिया सदरमुकाम गुलरिया आउने जाने सबै मोटर बाटाहरु बन्द भएका छन् । यसको निर्माणमै गुणस्तरहीन सामाग्री प्रयोग भएको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले भने, ‘यो पुल बनाउँदैदेखि फल्ट देखिएको थियो । पुल बांगो देख्नासाथ हामीले यो गलत छ भनेका थियौं । तर सुनुवाई भएन । अहिले भत्कियो ।’
‘सबै बाटाहरु बन्द भएपछि गुलरिया नाकाबन्दीमा परेको जस्तो भएको छ,’ प्रजिअ थापाले भने, ‘पुल ४ सय ३५ मिटर लामो र ७.४ मिटर चौडा छ । यो पुल तरेर गुलरियाबाट बारबर्दिया नगरपालिका हुँदै पूर्वपश्चिम राजमार्गको रम्बापुर आउ-जाउ गर्न सकिन्थ्यो । यो पुल पनि भत्किएपछि सदरमुकाम गुलरियाको चारैतर्फबाट यातायात सम्पर्क टुटेको छ ।’