
४ माघ ०७४, सप्तरी । बसन्त पञ्चमी अर्थात् सरस्वती पूजा नजिकिएसँगै मूर्तिकारहरु सरस्वतीका मूर्ति बनाउन व्यस्त रहेका छन् ।
जिल्लाको तोपा, हनुमाननगर, भारदह, कञ्चनरुप, रुपनी, कल्याणपुर र सदरमुकाम राजविराज, तेतरीगाछी, रुपनी मोड लगायतको स्थानमा मूर्ति बनाउनका लागि मृर्तिकारहरुलाई अहिले भ्याइनभ्याई भएको छ ।
शिक्षाकी देवीको रुपमा लिइने सरस्वतीकाे पूजाअर्चना गर्न यस क्षेत्रका शैक्षिक संस्थाहरु विद्यालय र घरमा समेत मूर्तिको माग बढेपछि मूर्तिकारहरु व्यस्त रहेका हुन् ।
बसन्त पञ्चमीको दिन सरस्वतीको प्रतिमा बनाएर पूजाआजा गरिने भएकोले मूर्ति बनाउन व्यस्त भएको मूर्तिकार राजविराज ११ झल्हीका श्याम कुमार मण्डल (खत्वे)ले बताए ।
बजारमा अहिले सानो मूर्तिको १ हजार र ठूलो मूर्तिको ५ हजारसम्ममा बिक्री हुने गरेको छ ।
प्रत्येक विद्यालयले मूर्ति खरिद गरी पुजाअर्चना गर्ने गरेसँगै आम्दानी पनि राम्रैै हुने गरेको र अहिले मूर्तिको माग समेत बढेको उनले बताए ।
मण्डलले भने, ‘सानो उमेरबाट नै मूर्ति बनाएर यो पेशा गर्दै आएको र यो कला मैले बुबाको माध्यमबाट सिकेको हुँ ।’
उनले यो पेशा धेरै युवाहरुले सिक्ने रहर गरेका तर माटोको काम भएकोले सुरुमा राम्रो काम गर्ने र पछि फोहोर हुने भन्दै नआउने गरेको बताए ।
उनले सिजनमा अडर धेरै आँउदा मूर्ति बनाउनै नभ्याउने मूर्तिकार पनि बताए ।
यस वर्ष सरस्वती पूजा माघ ८ गते परेकाे छ ।













