१ माघ ०७४, बागलुङ । जिल्लाको वडिगाड गाउँपालिका वडा नं. -१० गंगरेमा जिप दुर्घटना हुँदा ३ जना घाइते हुनुका साथै एक जनाको मृत्यु भएको छ ।
सोमबार बिहान ५:३० बजेतिर बागलुङ र प्युठानको सिमाना गगरेबाट ना.अ.प. १०३८ नम्बरको जिप सडक भन्दा १२ फिट तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा बडिगाड वडा नं.१० दर्लिङका अन्दाजी ३४ वर्षीय मेखबहादुर बुढाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य ३ जना घाइते भएका छन् ।
घाइते हुनेमा वडिगाड ९ की ४५ वर्षीया पुनम बुढा, बडिगाड- १० का बर्ष २६ का डिलेन्द्र बुढा र चालक प्युठान- ५ अर्खाका जितेन्द्र राना रहेका छन् ।
घाइते भएका तीनै जनालाई एम्बुलेन्सबाट उपचारका लागि बुर्तिबाङ ल्याउँदै गरेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख कृष्ण रानाले जानकारी दिएका छन् । दुर्घटनाको कारण बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।













