बागलुङको जलजलाबाट खर्बाङतर्फ आउँदै गरेको जिप दुर्घटना

९ साउन ०७४, बागलुङ । सोमबार बिहान बडीगाड गाउँपालिका वडा नम्बर ५ मा  जलजलाबाट खर्बाङतर्फ आउँदै गरेको जिप दुर्घटना भएको छ । जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ भने  ६ जना घाइते भएका छन् । जिपमा चालकसहित १२ यात्रु सवार थिए ।

जलजलाबाट खर्बाङतर्फ आउँदै गरेको ध १ ज १८४ नम्बरको जिप बडीगाड गाउँपालिका ५ ग्वालीचौरको दाबिक भन्ने ठाउँमा दुर्घटनामा परेको हो । जिप घुम्ती मोड्ने क्रममा सडकबाट ९ सय मिटर तल खसेको घटनास्थलमा रहेका ग्वालीचौर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विष्ष्णु लम्सालले जानकारी दिए।

जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। घाइतेमध्ये बडीगाड ८ रणसिंह किटेनीका भीमबहादुर शेर्वुजा, टेकबहादुर पाइजा र दिपशिखा पाइजाको अवस्था गम्भीर छ भने बडीगाड ८ कै बालमति पाइजा, दिनेश पाइजा र गलकोट नगरपालिका १० पाण्डवखानी भिमबहादुर श्रीस  घाइते भएका छन् ।

६ जना घाइतेहरुलाई  ग्वालीचौर स्वास्थ्यचौकीमा उपचार गराई हेलिकोप्टरमा काठमाडौंतिर ल्याइएको छ ।

दुर्घटनामा परि ५ ग्वालीचौरका मुक्तबहादुर पाइजा, वडा नम्बर ८ रणसिंहकिटेनीका नारायण सेरपुजा, वडा नम्बर ४ जलजलाका होमेन काउछा र चालक जलजलाकै तुलबहादुर पुनको  घटना स्थलमै मृत्यु भएको हो ।

भिरबाट तल खसेको जिप टुक्रटुक्रा परेको र उद्धारमा समेत कठिनाई भएको प्रहरी सहायक निरीक्षक लम्सालले बताए। साँघुरो बाटोमा हिलो समेत भएकाले मोड्ने क्रममा जिप अचानक सडकबाट तल खसेको देखिएको उनले बताए। घटनास्थलमा प्रहरी टोली र स्थानीयवासीले घाइतेको उद्दार गरेका थिए।

 

 

तपाइको मत