बागलुङको बाढीमा १४ जनाले ज्यान गुमाए, हराइरहेका २४ जनाको खोजी कार्य जारी

१९ भदौ ०७७, काठमाडौं । बागलुङको भुजीखोलामा गत मंगलबार राति आएको बाढीबाट १४ जनाले ज्यान गुमाएका छन् ।

यस्तै सो विपदमा परेका २४ जना हराइरहेको र उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीकाअनुसार बाढीले ढोरपाटन नगरपालिकाको ५, ६, ७, ८ र ९ को ८० घरमा पूर्ण र ५१ घरमा आंशिक क्षति पुगेको छ ।

यस्तै, नगर प्रमुख देवकुमार नेपालीले बाढीको कारण ११ वटा लघु जलविद्युत आयोजना, एउटा स्वास्थ्य इकाइ, ११ वटा झोलुंगे पुल, ५ वटा ढलान पुर, १० वटा काठे पुर र दुई विद्यालयमा पनि क्षति पुगेको बताएका छन् ।

व्यक्तिगत घर र भौतिक संरचना सरकारले पुनःनिर्माण गर्ने

आजै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बागलुङको बाढी प्रभावित क्षेत्र ढोरपाटनको स्थलगत अवलोकन गरेर भुजीखोलाले घरबारविहीन बनाएको पीडितहरूलाई त्रिपाल, टेण्ड, म्याट, खाना पकाउने भाँडालगायत सामग्री राहत प्रदान गरेका छन् ।

बाढीले पूर्णरुपमा क्षतिग्रस्त व्यक्तिगत घर र भौतिक संरचना सरकारले पुनःनिर्माण गर्ने बताउँदै गृहमन्त्री थापाले घटना र क्षतिको पूर्ण विवरण प्राप्त भएपछि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको समन्वयमा पुनःनिर्माणको काम थाल्ने बताए ।

उनले राहत र उद्दारलाई छिटो छरितो तथा प्रभाविकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन समेत दिएका छन् ।