बागी उम्मेदवार हेलिकोप्टरमा, रामेछापका माओवादी नेताले लिए उम्मेदवारी फिर्ता

८ कार्तिक ०७४, काठमाडौं । रामेछापमा माओवादी-एमाले गठबन्धनविरुद्धमा वागी उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका नेताहरुले उम्मेदवारी फिर्ता लिएका छन् ।

माओवादी नेता तथा विनाविभागीय मन्त्री श्यामकुमार श्रेष्ठ, एमाले जिल्ला अध्यक्ष शान्ति पौडेल र एमाले नेता कैलाश ढुंगेल विरुद्ध उम्मेदवारी दिएका माओवादी केन्द्रका तीन जना बागी उम्मेवार हेलिकोप्टरबाट मन्थली पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् ।

माओवादी-एमाले गठबन्धनविरुद्ध गएर पूर्वसभासद लक्ष्मी गुरुङले प्रतिनिधिसभा सदस्यका उम्मेदवार माओवादी नेता तथा विनाविभागीय मन्त्री श्यामकुमार श्रेष्ठविरुद्ध उम्मेदवारी दिएकी थिइन् ।

त्यसैगरी माओवादी जिल्ला सचिवालय सदस्य हेमन्त पौडेलले प्रदेश ‘क’ मा एमाले जिल्ला अध्यक्ष शान्ति पौडेलविरुद्ध उम्मेदवारी दिएका थिए ।

यस्तै माओवादी पोलिटव्यूरो सदस्य मैनकुमार मोक्तानले प्रदेश ‘ख’ मा एमाले नेता कैलाश ढुंगेलविरुद्ध उम्मेदवारी दिएका थिए ।

माओवादी केन्द्रको ३ नम्बर प्रदेश हेडक्वार्टरसँगको वार्तापछि गुरुङ, पौडेल र मोक्तानले उम्मेदवारी फिर्ता लिएका छन् । उनीहरुलाई समानुपातिक वा कहीँ न कहीँ व्यवस्थापन गर्ने शर्तमा उम्मेदवारी फिर्ता लिन लगाइएको स्रोतले जनाएको छ ।

माओवादी केन्द्रका असन्तुष्ट तीनै जना बागी नेताहरुलाई बिनाबिभागीय मन्त्री तथा प्रतिनिधिसभाका उम्मेदवार समेत रहेका श्याम श्रेष्ठले हेलिकोप्टर व्यवस्था गरेर मन्थली लगेका हुन् ।

पार्टीमा छलफल गर्दा ढिलो हुने र उम्मेवारी फिर्ता लिने समय सकिने भएकाले बागी उम्मेदवारलाई हेलिकोप्टर चार्टर गरिएको हो ।

तपाइको मत