बागी उम्मेदवारीले नेताहरुलाई चुनाव थप महंगो हुने !

रामचन्द्रविरुद्ध गोविन्द, आशाविरुद्ध शम्भु : महन्थविरुद्ध चन्द्रेश्वर, उपेन्द्रविरुद्ध जयप्रकाश

१७ कार्तिक ०७४, काठमाडौं । आगामी मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा शीर्ष नेताबीचको भिडन्तका बीच बागी उम्मेदवारीले नेताहरुलाई चुनाव थप महंगो हुने देखिएको छ ।

रामचन्द्र पौडेल (बायाँ) र गोविन्दराज जोशी (दायाँ)

तनहुँमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडलविरुद्ध पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले उम्मेदवारी दर्ता गराएका छन् ।  तनहुँ १ बाट टिकटको दाबी गरेका नेता जोशीलाई काँग्रेसले टिकट नदिएपछि बागी उम्मेदवारी दर्ता गराएका हुन् ।

यसैगरी तनहुँ जिल्ला प्रदेश सभा २ (क) का माओवादी केन्द्रकी उम्मेदवार तथा हाल विना विभागीय मन्त्री समेत रहेकी आशा कोइरालाविरुद्ध म्यादे गाउँपालिका इन्चार्ज शम्भु अधिकारीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

 

शम्भु अधिकारी (बायाँ) र आशा कोइराला (दायाँ)

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरविरुद्ध पनि महोत्तरी ३ मा बागी उम्मेदवारी दर्ता भएको छ । स्थानीय चुनावअघि झा राजपा नेपालमा प्रवेश गरेका चन्द्रेश्वर झाले ठाकुरविरुद्ध उम्मेदवारी दर्ता गराएका हुन् ।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध पनि राष्ट्रिय जनता पार्टी नेपालका सहमहामन्त्री जयप्रकाश ठाकुरले बागी उम्मेदवारी दिएका छन् ।

त्यस्तै फोरम नेपालले टिकट नदिएपछि बबन सिंह रौतहट १ मा बागी उम्मेदवार बनेका छन् ।

सिन्धुलीमा गणेश पहाडीविरुद्ध एमालेकै कुमारबहादुर कार्कीले उम्मेदवारी दर्ता गराएका छन् भने माओवादी केन्द्रका नेता हरिबोल गजुरेलविरुद्ध माओवादी केन्द्रकै रामकुमार पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

ज्वालाकुमारी साह (बायाँ) र चन्द्रकान्त प्रसाद यादव (दायाँ)

त्यसैगरी माओवादी नेत्री ज्वालाकुमारी साहले बारा ३ (क) बाट प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष उम्मेदवारी दर्ता गराएकी छन् भने सोही क्षेत्रबाट माओवादी नेता चन्द्रकान्त प्रसाद यादवले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

विभिन्न पार्टीबाट बागी बनेका स्वतन्त्र उम्मेदवारहरुले पार्टी नेतृत्वले पार्टी्भित्रका इमानदार कार्यकर्ताको योग्यता, क्षमता र दक्षताको सही मूल्याङ्कन नगरी नवप्रवेशी र अवसरवादीहरुलाई निर्वाचनमा टिकट दिएपछि बाध्य भई बागी बन्नु परेको बताएका छन् ।

पार्टी नेतृत्वले निर्वाचनका समयमा टिकटका लागि मात्रै उच्च तहमा छलफल गरेर पार्टीमा प्रवेश गर्ने अवसरवादी र पैसावाला नवप्रवेशीहरुसँग मोलमोलाई गर्दै टिकट दिई च्याप्न थालेकाले आफूहरुले स्वतन्त्र उम्मेदवारी दिनु परेको वागी उम्मेदवारहरुको भनाई छ ।

तपाइको मत