बाढीले बगाएर तीन जना बेपत्ता, १४ सय बढी घर डुबानमा

२८ साउन ०७४, काठमाडौं । अविरल वर्षाका कारण खोलामा आएको बाढीले बगाएर तीनजना बेपत्ता भएका छन् भने १४ सय बढी घर डुबानमा परेका छन् ।

सुन्दर हरैचा नगरपालिकाका मेयर हिव ढकालकाअनुसार गछिया खोला र बूढी खोलामा आएको बाढीले बलिया खापमा रहेको बृद्ध आश्रमका तीन जना वृद्धाहरुलाई बगाएर बेपत्ता बनाएको छ ।

प्रहरीकाअनुसार लगातारको वर्षाले विराटनगरका ४, ५, ६, ११ र १२ नम्बर वडा पूर्ण रुपमा डुबेका छन् ।

डुबानबाट करिब ६ सय घर डुबेको छ भने उता, रतुवामाई नगरपलिका ७, ८, ९ र ५ को रतुवा खोला र बक्राहा खोलाको बाँध फुटेर बस्तीमा पानी पसेको छ । पानी पसेपछि झण्डै ७ सय घर डुबानमा परेका छन् ।

यस्तै धनपालथान गाउँपालिका–६ स्थित लोहोन्द्रा खोलाको बाँध फुटेर अन्दाजी १ सय ५० घर डुबानमा परेका छन भने रंगेली नगरपलिका–३ आमतोलामा ४ घर डुबानमा परेका छन् ।

डुबानमा परेका परिवारलाई सुरक्षित स्थानतर्फ सार्ने कार्य भइरहेको प्रहरी चौकी इटहराले बताएको छ ।

तपाइको मत