बाढीले विभिन्न जिल्लाका स्वास्थ्य सेवा प्रभावित, उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रीको निर्देशन

२८ साउन ०७४, काठमाडौं । अविरल वर्षापछि बाढी–पहिरोका कारण तराईका विभिन्न जिल्लाका स्वास्थ्य संस्थाहरुमा क्षति पुगेको छ।

बाढीको कारण रौतहटको गंगापिपरा र पतौरा प्राथमिक स्वास्थ्य केन्द्र डुबानमा परेका छन् ।  गंगापिपरामा तीन फिटसम्म पानी जमेपछि शुक्रबारदेखि स्वास्थ्यकर्मीहरु स्वास्थ्य केन्द्रमै थुनिएका छन् । स्थानीयले उद्धारको प्रयास जारी राखे पनि पानी नघटेका कारण कठिनाइ भइरहेको जनाइएको छ । सो केन्द्रको दुई वटा पानी ट्याङ्की बाढीले बगाएको छ।

रौतहटको बाढी प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीहरु पीडितहरुको उपचारमा खटिइरहेको स्वास्थ्य मन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार, सुनसरी, झापा, मोरङदेखि महेन्द्रनगरसम्मका क्षेत्रमा बाढीका कारणले कुनै पनि औषधिको अभाव हुन पाएको छैन।

उता, बाँकेको फत्तेपुरस्थित स्वास्थ्य चौकीको एकतले भवन बाढीले डुबेपछि त्यहाँ रहेको सबै औषधि नष्ट भएको छ । त्यहाँका स्वास्थ्यकर्मीहरुलाई छुट्टै घरमा राखेर उपचार गर्ने व्यवस्था मिलाइएको छ।

स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले बाढी प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मीहरुको आवश्यक व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । मन्त्री पोखरेलले प्रभावित क्षेत्रमा रहेका जिल्ला अस्पताल, अञ्चल अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयहरुलाई उच्च सतर्कतामा बस्न समेत निर्देशन दिएका छन् ।

शनिबार बिहान स्वास्थ्य सचिव, विभागका महानिर्देशक र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख लगायत पदाधिकारीलाई बोलाएर मन्त्री पोखरेलले प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मीको व्यवस्था मिलाउन आग्रह गर्दै उच्च सतर्कतामा बस्न निर्देशन दिएका हुन् ।

बाढी प्रभावित क्षेत्रमा प्रकोप फैलिन सक्ने सम्भावना विचार्दै  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र स्वास्थ्य सेवा विभागलाई ‘हाइ अलर्ट’मा राखिएको छ ।

 

 

तपाइको मत