२९ साउन ०७४, काठमाडौं । सरकारले बाढी पहिरोमा परी बिभिन्न जिल्लामा ३३ जनाको ज्यान गएको जनाएको छ ।
गृहमन्त्री जनार्दन शर्माका अनुसार सुनसरीमा ७, झापामा ४, सिन्धुलीमा ४, पाँचथरमा ४, मोरङमा ३, बाँकेमा ३ जनाको ज्यान गएको छ ।
यसैगरी बारामा १, सर्लाहीमा १, दाङमा १, पाल्पामा १, र बर्दियामा १ जनाको बाढी पहिरोमा परी ज्यान गएको छ ।
सुनसरीको इटहरीको गैरी गाउँका माला साह, उहाँकी छोरी सिठी साहा, भोजपुर घोरेटार घर भइ इटहरी बस्ने ३ वर्षका रुपेस राइ र ८ बर्षकी रुपसनी राईको ज्यान गएको छ । यसैगरी घरमा पानी पसेपछि इटहरी आइतबारेका ईश्वर सुनुवार र तरहरामा नाम खुल्न नसकेका अन्दाजी ७० बर्षका व्यक्तीको पनि ज्यान गएको प्रहरीले जनाएको छ ।
कोशी व्यारेजमा पानीको वहाब शनिबार बेलुका दुई लाख ८३ हजार क्युसेक प्रतिसेकेन्ड मापन गरिएको छ । कोशीका ५६ मध्ये ३७ ढोका खोलिएको छ । तत्काल अरु ढोका खोल्नुपर्ने आवश्यकता देखिएकाले सरकारले भारत सरकारसँग आग्रह गरेको छ ।
धरान उपमहानगरपालिकाका विभिन्न वडाका खहरे खोलामा आएको बाढीले ३५ घर बगाएको छ । मानवीय क्षति भने भएको छैन । इटहरी बजारलगायत जिल्लाका अधिकांश ठाउँ जलमग्न छन् ।
सिन्धुलीको कमलामाई नगरपालिका गैरीगाउँमा पहिरोले घर भत्काउँदा एकै परिवारका ४ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयको पर्खाल लडेर घर भत्किँदा दुर्गा खड्का, उहाँका छोराहरु अनिस र मनिस तथा छोरी शोभाको ज्यान गएको छ ।
बाँकेको राप्ती सोनारी गाउँपालिका ४ लालापुरमा कमिलाल थारुका ३ जना छोरीहरुको ज्यान गएको प्रहरीले जनाएको छ । बाढीबाट बच्न बालिकाहरु छतमा बसेको बेला घर नै भत्किएको थियो । प्रहरीका अनुसार कमिलालकी श्रीमती पनि बेपत्ता भएकोे छ । यसैगरी लालापुरकै मकैबारीमा एकजना पुरुषको शव पनि भेटिएको छ । राप्ती सोनारी ६ र ७ नम्बर वडा पुरै डुबानमा परेको छ ।
मोरङको बक्राहा नुनसरी खोला र लोहन्द्रा खोलाले बगाउँदा मिक्लाजुङ रातमाटेका गंगाराम खतिवडा र केराबारी कुसुमेका मिनबहादुर थापाको ज्यान गएको प्रहरीले जनाएको छ । मोरङको लेटाङ् नगरपालिका १ मालबाँसेमा पहिरोमा पुरिएर गोपीमाया तामाङको ज्यान गएको छ । पहिरोले दुई घर बगाएको छ । यस्तै मोरङको बुढीगंगा गाउँपालिकाको हात्तीमुडामा एक महिलाको शब भेटिएको छ ।
मोरङको बुढीगंगा गाउँपालिका, उर्लाबारी, मिक्लाजुङ र केरावारी गाउँपालिका, विराटनगर महानगरपालिका र पोखरीया, रतुवामाई नगरपालिका, गोविन्दपुर, धनपालथान गाउँपालिकाका विभिन्न ठाउँ डुबानमा परेको प्रहरीले जनाएको छ ।
विराटनगर विमानस्थल पानी जमेर पोखरी बनेपछि कुनै पनि उडान हुन सकेको छैन ।
दाङको तुलसीपुर महानगरपालिकामा बेतनी खोलाले बगाउँदा भगवती सुनार र नरबहादुर रावतको ज्यान गएको छ । बबई नदी र राप्ती नदीमा बढेको पानीले डुबान हुँदा ३ सय घर विस्थापित भएका छन् भने ७६ घर भत्किएका छन् ।
पाल्पामा पहिरोले मोटरसाइकल च्यापिंदा पाल्पाको तानसेन टक्सार टोलका गृहपति शाक्यको ज्यान गएको छ ।
मकवानपुरको भिमफेदी गाउँपालिका ईपा पाखाटोलमा पहिरोले पुरिदाँ मिठु दानीको ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै बबई नदीमा बगाएको दाउरा झिक्न जाँदा बा¥ह बर्दिया नगरपालिका १० का राजेन्द्र थारु बेपत्ता भएको छ ।
सर्लाहीको धनकौल गाउँपालिका–१ मानपुरका किशोरी रायको ज्यान गएको प्रहरीले जनाएको छ । त्यस्तै सोती खोलाले बगाएर बरहथवा नगरपालिका– १० सीतापुरमा १७ वर्षीय राकेशकुमार साहको पनि ज्यान गएको छ ।
सर्लाहीको मलंगवा सहित जिल्लका खैर्बा, सिसौट, छटौल, महिनाथपुर, मानपुर, सुदामा, बलरा, भाडसर, अचलगड लगायत दक्षिणी भेगमा दर्जनौ घर डुबानमा परेका छन् ।
इलामको चुलाचुली गाउँपालिकामा ३ वटा घर बगाएको छ । यस्तै, सूर्योदय नगरपालिका २ बागवीरेमा लाक्पा शेर्पा र वडा नम्बर ३ का हरि ढकालको घर पनि बाढीले बगाएको छ । बाढीका कारण चुलाचुलीको चाँजो खोलको झोलुङ्गे पुल पनि बगाउने खतरा बढेको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण इलाममा विद्युत अवरुद्ध भएको छ ।
सप्तरीमा राजविराजको मुख्य बजारसहित २ हजारभन्दा बढी घर डुबानमा परेका छन् भने पाँच सय परिवार विस्थापित भएका छन् । सप्तरीको खाँडो, जिता, बिहुल, त्रियुगालगायत नदीमा आएको बाढी गाउँ पसेको हो ।
यसैगरी तिलाठी कोइलाडी गाउँपालिकाको कुशहा र बनरझुला, हनुमान नगर योगिनीमाई नगरपालिकाको मल्हनियाँ टोल, गोबरगाढा बस्तीलगायत ठाउँ डुबानमा परेका छन् ।