बाढी, पहिरोमा परी १११ को मृत्यु, ३५ जना बेपत्ता

३१ साउन ०७४, काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले तराई- मधेसका जिल्लामा  बाढी, पहिरोमा परी १११ को मृत्यु, ३५ जना बेपत्ता भएको जानकारी दिएका छन् ।

मंगलबार बसेको व्यवस्थापिका–संसद्को  बैठकमा मन्त्री शर्माले झापा, मोरङ, सुनसरी, सिरहा, सर्लाही, सप्तरी, रौतहट, कैलाली, पर्सा, बाँके, दाङ लगायत तराई- मधेसका जिल्लामा हालैका बाढीले १११ को मृत्यु, ३५ जना बेपत्ता भएको जानकारी दिएका हुन् ।

शर्माले बाढीबाट ती जिल्लाका ८० प्रतिशत भूभागका साथ हजारौं घर डुबानमा परेको, ३५ जना हराइरहेको र हजारौं जनता विस्थापित भएको जानकारी दिँदै डुबान क्षेत्रमा हेलिकप्टरका माध्यमबाट राहत वितरण अगाडि बढेको बताए ।

गृहमन्त्री शर्माले बाढीबाट मृत्यु भएका परिवारलाई दुई लाख र घर मर्मत गर्न दश हजार रुपैयाँ वितरण समेत सुरु भएको जानकारी दिँदै बाढीपीडितलाई बुधबारसम्म व्यवस्थापन गरिसकिने स्पष्ट गरे । ‘सबै भूभाग जलमग्न भएका कारण शव व्यवस्थापन गर्न र अस्थायी पाल राख्ने स्थानसमेतको अभाव छ,’ उनले भने ।

मन्त्री शर्माले बाढीपीडित परिवारमा रोगको संक्रमण नफैलियोस् भन्नाका लागि जनसंख्याका आधारमा चिकित्सक परिचालन तथा क्षतिग्रस्त भौतिक संरचनाको विवरण लिन सुरु गरेको बताए ।

तपाइको मत