२८ साउन ०७४, काठमाडौं । गृह मन्त्रालयले विगत केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण मुलुका विभिन्न क्षेत्रहरु बाढी, पहिरो र डुवानका समस्या निम्तिएपछि खोज, उद्दार र राहतमा सहयोग सार्वजनिक अपील गरेको छ ।
मन्त्रालयले देशका विभिन्न नदीहरुको जल सतह बढी रहेको र केही नदीहरुको जल सतह खतराको तह भन्दा माथि गएको भन्दै सम्बन्धित सबैले आ-आफ्नो तर्फबाट उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।
मन्त्रालयले एक अपिल जारी गर्दै भनेको छ, ‘यस कठिन घडीमा खोज, उद्दार र राहत कार्यमा सहयोग पुर्याउन र समस्यामा परेका परिवारहरुलाई दैनिक जीवनमा आवश्यक पर्ने खाद्यान्न लगायतका सामग्रीहरु उपलब्ध गराउने कार्यमा आ-आफ्नो तर्फबाट सहयोग गर्न उद्योगी, व्यवसायी, सामाजिक क्षेत्रमा क्रियाशील संघ संस्थाहरु, समाजसेवी र सञ्चारमाध्यम सबैमा गृह मन्त्रालय हार्दिक अपिल गर्दछ ।’
अविरण वर्षाका कारण झापा, मोरङ, सुनसरी, सप्तरी, रौतहट, दाङ, बाँके लगायतका जिल्लाका विभिन्न स्थानहरु बाढी र डुवानबाट बढी प्रभावित भएका छन् ।
यसैगरी मध्य पहाडी क्षेत्रका विभिन्न स्थानहरुमा पहिरो गएको छ । बाढी, पहिरो र डुवानबाट जनधनको ठुलो क्षति भएको छ । यसबाट सार्वजनिक जीवन प्रभावित हुन पुगेको छ ।
मन्त्रालयले खोज, उद्धार र राहतका लागि स्थानीय प्रशासनको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी , सशस्त्र प्रहरी बल, नेपालका तालिम प्राप्त सुरक्षाकर्मीहरु र अन्य उपलब्ध जनशक्तिहरुको परिचालन उच्च प्राथमिकताका साथ भइरहेको जनाएको छ ।