बाढी र पहिरोले राजधानी आउने मुख्य राजमार्ग लगायत सडकखण्ड अवरुद्ध

अबिरल बर्षासँगै बागमती नदीमा आएको बाढी । तस्बिर : एसबी

५ साउन ०७७, काठमाडौं । अविरल वर्षाका कारण विभिन्न स्थानमा खसेको पहिरोले राजधानी काठमाडौं आउने मुख्य राजमार्ग लगायत सडकखण्ड अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनले चितवनबाट आउने सवारी साधन मुग्लिन नारायणगढ सडकखण्डको चार किलोमा र पोखराबाट आउने सवारी साधनहरु चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनीमा रोकिएको जानकारी दिएको छ ।

प्रहरीकाअनुसार काठमाडौं भित्रिने मुख्य सडकखण्ड धादिङ र चितवन जिल्लाथित राजमार्गमा खसेको पहिरोका कारण सवारी साधनहरु रोकिएका छन् भने उपत्यकाबाट बाहिरिने गाडीहरु गल्छी पुगेर रोकिएका छन् ।

पृथ्वी राजमार्गमा दर्जन भन्दा बढी स्थानमा पहिरो खसेको भन्दै प्रहरीले गल्छीको महेशखोला र मुग्लिन नारायणगढ सडकखण्डको चार किलोमा ठूलो पहिरो खसेको र उक्त पहिरो तत्कालै पन्छाउन सकिने अवस्था नरहेको बताएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी रुपक खड्काले धादिङको जोगिमारामा खसेको पहिरोले ३ वटा गाडी बगाएको र ४ वटा पुरिएको बताए ।

काठमाडौं र ललितपुर जोड्ने च्यासल पुल । तस्बिर : एसबी

उनले धादिङमा पहिरोका कारण एक जना बेपत्ता र धादिङमा पहिरोका कारण एक जना बेपत्ता भएको साथै बाढीले धादिङको मौवाखोलामा पुल नै भत्काएको पनि बताए ।

यसैगरी जल तथा मौसम विज्ञान विभागले नारायणी नदीको सतह बढ्दै गएपछि नदी वरपरका बासिन्दालाई सर्तक रहन आग्रह गरेको छ ।

प्रहरीले नारायणी नदीमा आएको बाढीले चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा बनाइएको हात्तीको दुई वटा मूर्ति बगाएको बताएको छ ।

यस्तै अविरल वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर क्षेत्र डुबानमा परेको छ । प्रहरीले हनुमन्तेमा आएको बाढीले बाराही पुल थुनिएपछि खेत र बस्तीमा बाढी छिरेर बराही क्षेत्रका करिब तीन दर्जन घर डुबानमा परेको बताएको छ ।

यस्तै बागमती किनारका बस्ती, बल्खुस्थित नदी किनारका बस्तीमा समेत बाढी पसेको छ । भने, ललितपुरको तुल्सी लाल स्मृति भवन नजिकैको च्यासल र काठमाडौंको बुद्धनगर जोड्ने पुल झण्डै थुनिने अवस्थामा पुगेको स्थानीय कुल बहादुर श्रेष्ठले जानकारी दिए । यस्तै हात्तीबन क्षेत्र समेत डुबनामा परेको छ ।

यस्तै महोत्तरीमा लगातारको वर्षाका कारण गौशाला नगरपालिका–१२ कान्तिबजार निवासी सुकमाया योञ्जनको एक तले फुसको घर भत्किँदा २ वटा बाख्रा मरेको र अन्नपात, लत्ताकपडा र भाँडाकुँडा गरी करिब २ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले बताएको छ ।