बारामा ‘हेलमेट लगाऊ, ज्यान जोगाउ’ साप्ताहिक कार्यक्रम सुरु

रामबाबु मेहता


२३ असोज ०७४, बारा । जिल्ला प्रहरी कार्यालय बाराले ‘हेलमेट लगाऊ, ज्यान जोगाउ’ नामक सचेतनामूलक साप्ताहिक कार्यक्रम सुरु गरेको छ ।

उक्त कार्यक्रमको सोमबार जिल्ला प्रशासन कार्यालयको मूलगेटमा प्रमुख जिल्ला अधिकारी विजय नारायण मनान्धर र संघीय प्रहरी ईकाई कार्यालय बिरगंजका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सूर्यप्रसाद उपाध्यायलेसंयुक्तरुपमा उदघाटन गरे ।

त्यसलगतै बाजागाजासहित प्रहरी र जनसाधरण समेत कलैया बजार परिक्रमा गरी भरतचोक पुगेर कोण सभामा परिणत भए ।

कोण सभा कार्यक्रममा वक्ताहरुले हेलमेट लगाउनुका फाइदा बारे मन्तव्य राखेका थिए । साथै, उनीहरुले सञ्चार माध्यमहरुलाई जनचेतनाको प्रचार–प्रसार र सम्प्रेषण गरी साप्ताहिक कार्यक्रम ‘हेलमेट लगाऊ, ज्यान जोगाउ’ अभियान सफल पार्न सहयोगका लागि आग्रह समेत गरेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मनान्धर, संघीय प्रहरी ईकाई कार्यालय बिरगंजका प्रमुख, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवार, स्थानीय विकास अधिकारी भरत ढुङ्गाना, पत्रकार महासंघ बाराका उपाअध्यक्ष रामबाबु मेहतालगायत सञ्चारकर्मी र सयौं जनाको उपस्थिति रहेको थियो ।

 

तपाइको मत