
१ कार्तिक ०७४, सप्तरी । राजविराजबाट बालक बेपत्ता भएको घटनामा आफ्नो कुनै संलग्नता नरहेको राजविराज ८ निवासी २४ वर्षीय राहुल यादवले स्पष्ट पारेका छन् ।
उनको भनाईलाई समर्थन गर्दै सो वडाका जनप्रतिनिधिहरुले समेत बेपत्ता बालकका आफन्तले आशंकाकै भरमा राहुलमाथि निराधार आरोप लगाएको भन्दै घटनाको सत्य-तथ्य छानबिन हुनुपर्ने माग गरेका छन् ।
घटना विवरण अनुसार राजविराजस्थित सडक विभाग कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत रामेश्वर यादवका ११ वर्षीय छोरा महेश विगत २३ दिनदेखि बेपत्ता छन् । उनी गत असोज ९ गते बिहानदेखि बेपत्ता भएका हुन् ।

विगत २३ दिनदेखि बेपत्ता ११ वर्षीय बालक महेश यादव
उनको अवस्था अझै अज्ञात छ । महेशका आफन्तले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी महेश बेपत्ता हुनुमा राहुलको संलग्नता हुन सक्ने आशंका व्यक्त गर्दै अनुसन्धानका लागि प्रहरीले पक्राउ गर्नुपर्ने माग गरेका थिए ।
बुधबार वडा अध्यक्ष र वडा सदस्यसहित पत्रकार सम्मेलन गरेका राहुलले बालक महेशको बेपत्ता हुनुमा आफ्नो संल्गनता देखाएर चरित्र हत्या गर्न खोजेको बताए ।
पत्रकार सम्मेलनमा उपस्थित सो वडाका अध्यक्ष जयनारायण मण्डलले राहुलको चरित्र र व्यवहारबारे आफूहरु पूर्ण जानकार रहेको जनाउँदै बालक अपहरण जस्तो घृणित काममा उनको कुनै पनि रुपमा उपस्थिति र संलग्नता हुनै नसक्ने दावी गरे ।
वडा सदस्य मोहन यादवले बेपत्ता बालक महेशका आफन्तद्वारा आशंका गरेकै भरमा राहुलको नाम जोडिनु दुर्भाव्यपूर्ण भएको बताउँदै यस्तो निराधार आरोपले राहुल माथि अनावश्यक शारीरिक र मानसिक तनाव सिर्जना भएको बताए ।
उनले बेपत्ता बालकको खोजतलासमा आफुहरु पनि लागि परेको जनाउँदै सत्य–तथ्य बाहिर नआएसम्म शंकैका भरमा कसैको नाम मुछिनु अन्याय भएको बताए ।













