२५ साउन ०७६, काठमाडौं । गजुरी गाउँपालिका–६ को ठुलीफाँटस्थित दरिङगाल खोलामा बालुवा निकाल्न खनेको खाल्डोमा डुबेर दुई जनाको मृत्यु भएको छ ।
अवैध रूपले बालुवा उत्खनन् गरेको खाल्डामा डुबेर दुई युवाको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा गजुरी गाउँपालिका– ७ का २२ वर्षीय सुमन स्याङतान र २१ वर्षीय भीम घलान रहेको धादिङका प्रहरी नायव निरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
खड्काकाअनुसार दरियाँल खोलामा हातैले बालुवा निकालेर मजदुरी गर्ने युवाहरू दुवै जना पौडी खेल्दै बालुवा भए नभएको परीक्षण गर्ने क्रममा डुब्न गएको बताए । उनीहरूको शव ३ घण्टापछि स्थानीयवासीले नै खोलाबाट निकालेका थिए ।
अनियमित ढंगले डोजर प्रयोग गरी खोलाबाट बालुवा निकाल्दा खोला पोखरीमा परिणत बनेर जोखिम बढेको भन्दै आक्रोसित स्थानीयबासीले तीन ओटा डोजरमा आगजनी गरेका छन् ।
पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने तथा बालुवा उत्खनन गर्ने ठेकेदारलाई कानुनी कारवाही गर्नुपर्ने माग राख्दै स्थानीयबासीले अहिले घटनास्थलमै शव राखेर विरोध प्रदर्शन गरिरहेका छन् ।













