बिद्युत प्राधिकरणलाई एक नम्बरको संस्थान बनाउने ऊर्जामन्त्रीको उद्घोष

१ भदौ ०७६, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले नेपाल बिद्युत प्राधिकरणलाई एक नम्बरको संस्थान बनाउने बताएका छन् ।

मन्त्री पुनले आइतबार प्राधिकरणको ३४औं बाषिर्कोत्सवको अवसरमा आयोजित कार्यक्रममा नेपाल विद्युत प्राधिकरणलाई सरकारी संस्थानहरूमध्ये एक नम्बरको संस्थान बनाउने बताएका हुन् ।

‘अधिकांश संस्थानहरू घाटामा चलिरहँदा प्राधिकरण खुद नाफा कमाउने अवस्थामा पुगेको छ, अब यसलाई एक नम्बर संस्थान बनाउने छौं’ मन्त्री पुनले भने ।

तीन वर्षअघि ८ अर्ब ८९ करोड रुपैयाँ खुद घाटामा रहेको प्राधिकरणले त्यसपछि निरन्तर नाफा कमाउँदै आएको भन्दै उनले चालु आर्थिक वर्षमा प्राधिकरणलाई साढे ८ अर्ब रुपैयाँभन्दा बढी नाफामा लैजाने पनि सो अवसरमा बताए ।

यसैगरी मन्त्री पुनले नियमित विद्युत आपूर्ति हुन थालेपछि मुलको अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको उल्लेख भन्दै आगामी दिनमा प्राधिकरण भारत बंगलादेशसँग विद्युत व्यापारका लागि सौदाबाजी गर्न सक्ने अवस्था पुग्ने बताए ।

कार्यक्रममा ऊर्जा सचिव दिनेश कुमार घिमिरेले विद्युतको खपत बढाउनु चुनौतीपूर्ण रहेको बताएका थिए भने कार्यकारी निर्देशक कुलमान घिसिङले स्वदेशमा विद्युतको आन्तरिक खपत बृद्धि गर्न विशेष जोड दिइने बताएका थिए ।

तपाइको मत