बिना एजेण्डा कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै !

२४ साउन ०७४, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ ।

केन्द्रीय कार्यसमितिको अधिकारसमेत लिएर बस्ने कार्यसम्पादन समितिकोे बैठकमा छलफलका लागि कुनै एजेण्डा नभएकोमा पार्टी नेताहरूले असन्तुष्टि जनाएका छन् ।

सभापतिदेखि समितिका सबै सदस्य सहभागी हुने बैठकमा छलफलका लागि कुनै एजेण्डा नभएकाले सम्पन्न स्थानीय तहका चुनावी समीक्षा र प्रदेश नं. २ मा उम्मेदवार चयनसम्बन्धी निर्णय बैठकले लिनसक्ने वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।

नेता पौडेलले बैठक २ नं. प्रदेशको स्थानीय तह चुनाव, कांग्रेसको समग्र संगठनात्मक गतिविधि र राष्ट्रिय राजनीतिमा केन्द्रित हुनुपर्ने आफ्नो धारणा रहे पनि आधिकारिक एजेण्डाबारे कुनै जानकारी नभएको बताए ।

‘मैले विधि र परिपाटीअनुसार पार्टी सञ्चालन गरौं भन्दै आएको छु । तर, कार्यान्वयन भएको छैन’ पौडेलले भने ।

कांग्रेसका नेता कुलबहादुर गुरुङले प्रदेश नं. २ को चुनावबारे छलफल हुन सक्ने बताए ।

तपाइको मत