बिहीबार राति  १२ बजेपछि  मौन अवधि सुरू

८ मंसिर ०७४, काठमाडौं । पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने निर्वाचनको बिहीबार राति  १२ बजेपछि  मौन अवधि सुरू भएको छ ।

मौन अवधि सुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलकातर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, आम मतदाता तथा सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन पाइने छैन ।

निर्वाचन आचारसंहिता मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने, मौन अवधि सुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने तथा एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने व्यवस्था छ ।

पहिलो चरणको निर्वाचनका लागि मौन अवधि लागू भइरहँदा दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लामा निर्वाचनको प्रसारप्रसार जारी भने जारी रहने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

पहिलो चरणको निर्वाचनको मौन अवधिमा समाचार माध्यमहरूबाट प्रकाशन तथा प्रसारण गरिने समाचारजन्य सामग्रीबाट मतदातालाई समेत प्रभाव पर्ने भएकाले सो अवधिमा निर्वाचन आचारसंहिता विपरीत हुने कुनै पनि प्रकारका सामग्री प्रकाशन तथा प्रसारण नगर्न आयोगले आग्रह गरेको छ ।

 

 

तपाइको मत