२ बैशाख ०७५, काठमाडौं । बुटवल उपमहानगरपालिकाले उमेर पुगेका बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना नगरे उपमहानगरपालिकाले उपलब्ध गराउने कुनै पनि सेवा सुविधा रोक्का गर्ने निर्णय गरेको छ ।
मेयर शिवराज सुवेदीले सार्वजनिक भर्ना अभियानलाई प्रभावकारी बनाउन सबैसँग आग्रह गर्दै सो निर्णय गरेका छन् । उनले नगरका १९ वटै वडा कार्यालयलाई पत्राचार गर्दै भर्ना अभियानलाई प्रभावकारी बनाउन पनि निर्देशन दिएका छन् ।
सबैसँग सहकार्य गर्दै भर्ना अभियानलाई उत्सवका रुपमा मनाउन निर्देशन जारी गरिएको प्रमुख सुवेदीले बताए । साथै उनले भर्ना भएकालाई विद्यालयमा नियमति गर्न एवम् गुणस्तरीय शिक्षाको विकास गर्न पनि सार्वजनिक आहृवान गरेका छन् ।
विद्यालय जाने उमेर समूहका बालबालिकाहरुलाई भर्ना नगराउने र भर्ना गराए पनि विद्यालय नपठाउने अभिभावकको लगत संकलन गरेर पठाउन वडा कार्यालयलाई भनिएको छ । त्यस्ता अभिभावकलाई उपमहानगरपालिकाले उपलब्ध गराउने कुनै पनि सेवा सुविधा रोक्का हुनेसूचना प्रवाह गर्न सबै वडा कार्यालय र मातहतका इकाइलाई निर्देशन दिइएको मेयर सुवेदीले बताए ।
बुटवलमा अहिले ३९ सामुदायिक विद्यालय छन् । प्रारम्भिक वालविकास कक्षा सञ्चालन हुने केन्द्रको संख्या ६१ र सामुदायिक सिकाई केन्द्रको संख्या पाँच छ । यस्तै संस्थागत विद्यालयको संख्या ६२ रहेको छ ।
वैशाख १ गतेदेखि १४ गतेसम्म पहिलो चरणमा भर्ना हुन आउने विद्यार्थीका लागि पूर्ण सेटमा पाठ्य पुस्तकसमेत उपलब्ध गराउन र उनीहरुलाई हौसला प्रदान गर्ने गरी स्वागत सत्कारका कार्यक्रम गर्न नगरले वडाहरुमा पत्राचार गरिसकेको छ ।
उपमहानगरले सामुदायिकमा अध्ययन गर्ने अतिविपन्न बालबालिकालाई दैनिक खाजा खर्च उपलव्ध गराउँदै आएको छ । विद्यालयमा भर्ना भएका र नियमित रहेका सबै विपन्न बालबालिकाहरुलाई दैनिक २० रुपैयाँका दरले अभिभावकमार्फत खाजा खर्च उपलव्ध गराउँदै आएको शिक्षा इकाइका प्रमुखले बताए ।
यस्तै सामुदायिकमा आधारभूत तहमा अध्यय्न गर्ने सबै छात्राहरुलाई बाषिर्क चार सय दरले छात्रवृत्ति उपलव्ध गराउँदै आएको छ । यस्तै आधारभूत तहका सबै दलित विद्यार्थीहरु, माध्यमिक तहका सबै दलित विद्यार्थीहरुलाई पनि वाषिर्क चार सयका दरले छात्रवृत्ति उपलव्ध गराइएको छ । केही विपन्न बालबालिकाहरुका लागि पनि उपमहानगरले माध्यमिक तहमा विशेष छात्रवृत्ति उपलव्ध गराएको छ ।