७ असार ०७४, काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले १२ सय मेगावाटको बुढिगण्डकी आयोजना चिनियाँ कम्पनी ‘गेजुवा वाटर एन्ड पावर ग्रुप अफ’ले नबनाउने दाबी गरेका छन् । लाइसेन्स होल्ड गर्नको लागि मात्रै बुढिगण्डकी निर्माणको जिम्मा लिएको उनको दाबी छ ।
प्रचण्ड सरकारका उर्जामन्त्री जनार्दन शर्माले बिनाप्रतिस्पर्धा गेजुवालाई आयोजना निर्माणको जिम्मा दिएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले नेपालमा यो आयोजना निर्माण गर्दैछु भनेर विदेशमा अन्य आयोजना हात पार्नको लागि मात्रै गेजुवाले बुढीगण्डकी निर्माणको जिम्मा लिएको तर्क गरे ।
राजधानीमा बुधबार आयोजित कार्यक्रममा उनले भने, ‘लेखेर राख्नुस्, यो आयोजना चिनियाँ कम्पनीले बनाउँदै बनाउँदैन । यो केबल विदेशका आयोजना हात पार्नको लागि रचेको चाल हो ।’
भट्टराईले थपे, ‘प्रमुख राजनीतिक दलहरु चुप लागेर बसेका छन्, किनकी यसमा ठुलो कमिसनको खेल छ ।’
प्रमुख प्रतिपक्ष दल एमाले पनि कमिसनमा भुलेर सरकारको आलोचना नगरी बसेको उनले दाबी गरेका छन् । भट्टराईले भने, ‘यसले देशमा लोकतन्त्र छ कि छैन भन्ने प्रश्न उठेको छ ।’