बेइमानी माओवादीको संस्कारभित्र पर्दैन – प्रचण्ड

११ असार ०७४, खोटाङ । ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र एमाले हात्ती र माओवादी केन्द्र माउतेको भूमिकामा रहेको बताएका छन् ।

आइतबार दिउँसो खोटाङको सिम्पानीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘संविधान बनाउने बेला मैले नै सुशील कोइरालालाई राष्ट्रपति र केपी ओलीलाई प्रधानमन्त्री भनेर घोषणा गरेपछि संविधान बन्यो । स्थानीय तहको निर्धारण र स्थानीय तहको निर्वाचन घोषणामा पनि माओवादीकै निर्णायक भूमिका रह्यो ।’

‘हेर्दा हात्ती माउतेभन्दा ठूलो र बलवान् पनि देखिन्छ । तर, हात्तीलाई माउतेले तह लगाउँछ’ प्रचण्डले भने, अहिले कांग्रेस र एमाले हात्तीको भूमिका छन्, माओवादीले माउतेको भूमिकामा उनीहरूलाई गणतन्त्र, संघीयता, स्थानीय तह र परिवर्तनको बाटोमा हिडाइरहेको छ ।’

सभामा प्रचण्डले माओवादी केन्द्र सत्ताका लागि लुछाचुडी नगर्ने पार्टी भएको बताउँदै कांग्रेस–एमाले देश र जनताको हितभन्दा सत्ताको लुछाचुडीमा लाग्ने पार्टी भएकाे बताए ।

उनले भने, ‘एउटाले अर्कालाई धोका दिनु, छलछाम गर्नु र सत्ताका लागि देशलाई नै बन्धक बनाउनुलाई राजनीति ठान्छन् । तर, माओवादी त्यस्तो गर्न सक्दैन । बेइमानी माओवादीको चरित्र र संस्कारभित्र पर्दैन, माओवादी इमान र निष्ठाको राजनीति गर्छ ।’

तपाइको मत