बेनिघाटमा बस र दुईवटा माइक्रो ठोक्किँदा दुईको मृत्यु, ३२ जना घाइते

१५ असार ०७६, धादिङ । बेनिघाट रोराङ गाउँपालिका कृष्णभीरस्थित पृथ्वी लोकमार्गमा बस र दुईवटा माइक्रो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।

आइतबार काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको लु १ ख ९०७९ नम्बरको बस, चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ख १००४ नम्बरको माइक्रो र बा २ ख ४५६७ नम्बरको माइक्रो आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको धादिङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

मृत्यु हुनेमा धादिङ महादेवस्थान ८ का २७ वर्षका श्यामकुमार श्रेष्ठ र ठेगाना नखुलेकी २० वर्षकी एक युवती रहेकी छन् । उनीहरुको शव गजुरी अस्पतालमा रहेको छ ।

दुर्घटनामा ३२ जना घाइते मध्ये १८ जनालाई काठमाडौं रिफर गरिएको छ भने सातजनाको गजुरी अस्पताल र २ चरौदीमा उपचार भइरहेको छ भने अरु सामान्य उपचारपछि घर फर्किएका छन् ।

प्रहरीले बा ३ ख १००४ नम्बरको चालक नवलपरासी मध्यबिन्दु नगरपालिका ७ का २७ वर्षीय रबिन खड्कालाई नियन्त्रणमा लिएको छ ।
माइक्रोबसले बसलाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तपाइको मत