१९ असार, काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले २ हजार ५३३ उजुरी मध्ये १ हजार उजुरीको प्रारम्भिक अनुसन्धान सम्पन्न गरेको छ ।
आयोग सदस्य प्रा.डा. विष्णु पाठककाअनुसार प्रारम्भिक अनुसन्धानका आधारमा ‘एन्टीमार्टम’ फाराम सङ्कलन सकेपछि आयोगले विस्तृत अनुसन्धान सुरु गर्नेछ ।
प्रारम्भिक अनुसन्धानका आधारमा क्षेत्रहरू छनोट गरी द्वन्द्वकालीन घटनाको विस्तृत अध्ययनको क्रम जारी रहेको बताउँदै आयोग सदस्य पाठकले एक हजार जति उजुरीको प्रारम्भिक अनुसन्धान सकेको बताएका छन् । उनले प्रारम्भिक अनुसन्धान सकिएपछि पीडितको घरमै पुगेर विस्तृत अनुसन्धानका लागि तथ्याङ्क सङ्कलन गर्ने बताए ।
आयोगले ‘उजुरी’ द्वन्द्वकालीन समयको भए-नभएको, द्वन्द्वकालीन समयको घटनामा पनि सम्बन्धित पक्षबाट भए-नभएको विषयलाई प्राथमिकतामा राखेर प्रारम्भिक अनुसन्धान गरेको छ ।
प्रारम्भिक अनुसन्धान र उजुरीकर्ताको विवरण लिएर द्वन्द्वबाट मुख्य प्रभावित क्षेत्रको अनुगमनमा पुगेको आयोग पदाधिकारीको टोलीले सामूहिक व्यक्ति हत्या (नरसंहार)का प्रमाण फेला पारेको छ । हत्या गरी सामूहिक रूपमा गाडिएको उजुरीका आधारमा अनुगमनमा गएको टोलीले उक्त क्षेत्रलाई निगरानीमा समेत राखेको छ । पीडकले प्रमाण नष्ट गर्न सक्ने अवस्थाका कारण आयोगले उक्त जिल्ला र स्थान गोप्य राखेको छ ।
आयोग सदस्य पाठकले हालसम्म मुलुकका विभिन्न पाँच स्थानमा नरसंहारको भरपर्दो प्रमाण फेला परिसकेको बताएका छन् । आयोगमा व्यक्ति बेपत्ताका सबैभन्दा बढी उजुरी मध्यपश्चिमबाट परेका छन् । आयोगमा उजुरी गर्न थपिएको समय सीमा दुई साता बाँकी हुँदा २ हजार ५३३ उजुरी परिसकेका छन् ।