बेरोजगार, एकल महिला भत्ता हटाएर योगदानमा आधारित सामाजिक सुरक्षा विधेयक पारित

१० साउन ०७४, काठमाडौं । व्यवस्थापिका संसद्ले मूल विधेयकले प्रस्ताव गरेको बेरोजगार भत्ता, एकल महिला भत्ता लगायतका सुरक्षा योजना हटाइएको विधेयक बहुमतले पारित गरेको छ ।

व्यवस्थापिका संसद्को सोमबारको बैठकले बेरोजगार भत्ता, एकल महिला भत्ता लगायतका सुरक्षा योजना हटाइएको योगदानमा आधारित सामाजिक सुरक्षा विधेयक बहुमतले पारित गरेको हो ।

यसअघिको मूल विधेयकको परिच्छेद २ मा बेरोजगार भत्तादेखि सामाजिक सुरक्षाका विभिन्न व्यवस्था विधेयकमा समेटिएका थिए ।  तर, परिच्छेद २ को उक्त व्यवस्था अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले हटाएर संसदमा पेस गरेको हो । समितिले पेस गरेको उक्त प्रतिवेदन संसद्ले पारित गरेको हो ।

श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा हक सुनिश्चित गर्न सरकारले २०७२ साउनमा विधेयक संसदमा दर्ता गरेको थियो ।

रोजगार र मजदुरको तलबबाट एक प्रतिशतका दरले रकम कट्टा गरी कोषमा जम्मा गरिए पनि अहिलेसम्म परिचालन कानुन बनेको थिएन ।  विधेयक संसदबाट पारित भएसँगै कोष परिचालनको कानुनी बाटो खुलेको छ ।  विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको ९१औँ दिनदेखि कार्यान्वयनमा आउनेछ ।

तपाइको मत