बैंकहरुको डाटा ह्याक गरी करोडभन्दा बढी रकम लुटपाट गर्ने ५ चिनियाँ नागरिक पक्राउ

१५ भदौ ०७६, काठमाडौं । नेपालको बैंकिङ प्रणालीबाट करोड भन्दा बढी रकम लुटपाट गर्ने ५ जना चिनियाँ नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ ।

शनिबार दरबारमार्गस्थित नबिल बैंकको एटीएम मेसिन प्रयोग गरी रकम निकालिरहेको अवस्थामा चिनियाँ नागरिक झु लियाङलाई पक्राउ गरेपछि ह्याकरको गिरोह फेला परेको हो ।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार उनी २० थान नक्कली भिषा कार्ड र होटेलको साचो सहित पक्राउ परेपछि उनी बस्ने हात्तीसारस्थित माया मनोहर बुटिकको कोठा नं. १०१, ६०२ र ६०४ मा खान तलासी गर्ने क्रममा होटेलको कोठाबाट हतार गरी लिफ्टबाट भाग्दै गरेको अवस्थामा अन्य चार जना चिनिया नागरिकलाई नेपाली र विदेशी सामानसहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा ३५ वर्षका चेन विन विन, ३२ वर्षका झु लियाङ आङ, ३० वर्षका क्यु याङयिङ, ४० वर्षका लु जियालिङ र २९ वर्षका लिन जिनमिङ रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट सक्कली भिषा कार्ड १७ थान, नक्कली भिषा कार्ड १३२ थान, पिन्टर मेसिन १ थान, मोबाइल ६ थान, ल्यापटप १ थान, सामसुङ मोबाइल १ थान र डाटा कार्ड सहित १ करोड २६ लाख २९ हजार नेपाली रुपैयाँ, विदेशी मुद्रा ९ हजार १ सय ८ अमेरिकी डलर, ५ हजार २ सय ५० युरोसहित बरामद भएको छ ।

प्रहरीले उनीहरुले विदेशमा योजना बनाई विदाको दिन पारेर भदौ १३ गते चिनबाट अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश गरी भदौ १६ गते फर्किने योजना रहेको जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार १ करोड ६८ लाख ५४ हजार रुपैयाँ बैंकिङ प्रणालीबाट नोक्सान भएको जनाएको छ ।

तपाइको मत