काठमाडौं । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७४ जारी गर्दै बैंक खातामा राखेको रकम २० वर्षसम्म नचलाए जफत हुने व्यवस्था गरेको छ ।
मंगलबार जारी गरिएको एकीकृत निर्देशिका अनुसार २० वर्षसम्म खाताको रकम नचलाएमा निष्क्रिय रहेको ठहर गरी राष्ट्र बैंकको बैंकिङ विकास कोषमा जम्मा गरिनेछ ।
तर, खाताबाट रकम झिक्ने र रकम जम्मा गर्ने काम गरियो भने साथै ग्राहकले समय-समयमा खाता नवीकरण गरी सक्रिय बनाएको अवस्थामा रकम जफत र खाता निष्क्रिय हुँदैन ।
खातामा रकम जम्मा गरेको १० वर्षदेखि खाता चल्तीमा छैन वा कसैको पनि हकदाबी परेको छैन भने सम्बन्धित बैंकले त्यस्तो खाताको विवरण प्रत्येक आर्थिक वर्षको पहिलो महिनाभित्र राष्ट्र बैंकलाई जानकारी गराउनु पर्ने व्यवस्था गरिएको छ ।
बैंक खाता बन्द गर्दा पनि ग्राहकले शुल्क तिर्नुपर्ने
२० वर्षसम्म खाताको पैसा बुझ्न नगएमा राष्ट्र बैंकको बैंकिङ विकास कोषमा जम्मा गर्नु पर्नेछ । बैंक खाता बन्द गर्दा पनि ग्राहकले शुल्क तिर्नुपर्ने भएको छ । खाता खोलेको ६ महिनाभित्रमा खाता बन्द गर्नुपरेमा शुल्क तिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।