१२ बैशाख ०७७, नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिकाको वडा नम्बर २ पितमारीका ३ जना बालकको डुबेर मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरले दिएको जानकारी अनुसार बैजनाथ गाउँपालिका २ पितमारीमा तीन जना बालकको नाला पौडी खेल्न गएको बेला डुबेर मृत्यु भएको हो ।
तीनै जना बालक डुबेको अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
प्रहरीले नालामा डुबेर मृत्यु हुनेमा बैजानाथ गाँउपालिका २ पितमारीका बालकहरु १२ वर्षका नरेश कुँवर, १२ वर्षकै नबिन परियार र ११ वर्षका अनित रावत रहेको जानकारी दिएको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी कुलदिप चन्दले पौडी खेल्न गएको बेला एउटै गाउँका तीन जना बालकको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको बताएका छन् ।
उनले प्रहरीले घट्नाको अनुसन्धान गरिरहेको जनाउँदै अनुसन्धानको प्रारम्भिक चरणमा पौडी खेल्न गएको बेला गहिरो ठाउँमा पुगेर तीनै जना बालकको मृत्यु भएको देखिएको बताए ।













