२ फागनु ०८१, काठमाडौं । बैदेशिक रोजगारीमा गएका श्रमिकलाई सरकारले सम्बन्धित देशमा रहेको नेपाली दुतावासमार्फत् श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरेको छ ।
बिहीबार दुबईमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले श्रमिकको सेवा सुविधाहरुलाई सहज, सरल र प्रविधिमैत्री बनाउँदै लैजान उक्त सेवाको सुरुआत गरेका हुन् ।
मन्त्री भण्डारीले यो व्यवस्था क्रमैसँग अन्य दूतावासहरुबाट पनि प्रवाह हुने पनि बताए ।
अबुधाबीस्थित नेपाली राजदूतावासले सम्बन्धित राजदूतावासहरुबाटै श्रम स्वीकृति उपलब्ध गराउने व्यवस्थाले नेपाली श्रमिकहरु लाभान्वित हुने, नेपालमा गइरहनुपर्ने झन्झटबाट मुक्त हुने र आफ्नो पेसा र व्यवसायलाई निरन्तरता दिन सहज हुने जनाएको छ ।
संयुक्त अरब इमिरेट्सका लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले श्रमिकका लागि दूतावासले गरिरहेका कामबारे जानकारी दिँदै ‘अनलाइन’ श्रम स्वीकृति सेवा दूतावासबाटै उपलब्ध भएपछि सेवा प्रवाहमा चुस्तता आउने विश्वास व्यक्त गरे ।