बैशाख १५ सम्म लकडाउन गर्ने मन्त्रिपरिषद्को निर्णय, आवत-जावत खुकुलो नहुने

२ बैशाख ०७७, काठमाडौं । सरकारले लकडाउनको समयावधि बढाएर बैशाख १५ गतेसम्म पु-याउने निर्णय गरेको छ ।

बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमित निरन्तर बढ्दै गएपछि यस्तो निर्णय गरिएको एक मन्त्रीले बताए ।

नेपालमा कोरोना संक्रमित भेटिएपछि सरकारले पहिलोपटक चैत ११ बाट १८ गतेसम्मका लागि लकडाउन घोषणा गरेको थियो । यस अवधिमा संक्रमित थपिएपछि चैत १८ देखि २५ गतेसम्म लकडाउन थप ग-यो । संक्रमितहरु निरन्तर बढ्दै जाँदा पुनः चैत २६ देखि ०७७ बैशाख ३ सम्म लकडाउन बढाउने निर्णय गरेको थियो ।

तर, लकडाउन भोलि ३ गते सकिँदै गर्दा यस अवधिमा १६ जनामा कोभिड–१९ को संक्रमण देखिएको र ती मध्ये एक जना मात्रै संक्रमित निको भएपछि सरकारले बैशाख १५ सम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

यस्तै, सरकारले लकडाउनका कारण अलपत्र परेकाहरुलाई तत् स्थानमै व्यवस्थापन गर्ने तर लकडाउन खुकुलो नगर्ने निर्णय गरेको ती मन्त्रीले बताए ।

आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मई ३ तारिख (बैशाख २१ गते) सम्म लकडाउन गर्ने घोषणा गरेका छन् ।