ब्राह्मणवादी चिन्तन प्रवृतिविरुद्ध सांस्कृतिक रुपान्तरणको संर्घष आवश्यक छ – जनार्दन शर्मा

१४ जेठ ०७७, काठमाडौं । पूर्वगृहमन्त्री एवम् प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले चौरजहारी ८ घटनालाई राजनीतिकरण गर्ने प्रयास भएको बताएका छन् ।

बुधबार प्रेस विज्ञप्ति जारी गरेर उक्त घटनामा ४ जनाको ज्यान गएको र दुई जना अझै बेपत्ता भएको घटना आफैँमा जघन्य भन्दै सांसद शर्माले दोषीलाई कडा कारवाही गर्न र घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेका हुन् ।

“दलित जाति हुनुको कारणले यो घटना भएको र चार जनाको ज्यान गएको र दुई जना अझै बेपता भएको घटना आफैँमा जघन्य छ,” शर्माले भनेका छन्, “यस्तो घटनाको निन्दा र भत्र्सनाले मात्र पुग्दैन, अपराधीलाई कार्वाहीका साथै राज्य पूर्ण उतरदायी भएर जानु पर्दछ ।”

उनले संसदमा त्यहाँको सम्पूर्ण विवरणसहित भनाई राख्नेक्रममा केही सांसदहरुले होहल्ला गरी आफूलाई बोल्न नदिएको र घटनालाई तोडमोड गरी राजनीतिकरण गर्ने प्रयास भएको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।

तथ्यलाई बङ्ग्याउने प्रयास भएको भन्दै विज्ञप्तिमा भनिएको छ, “मेरो राजनैतिक जीवनको सबैभन्दा ठूलो उद्देश्य भनेकै उत्पीडित वर्गका पक्षमा खडा हुने हो । यो कुरा मैले दोराइरान पर्दैन । जनयुद्ध होस् चाहे सविधान निर्माणको बेलाका बहस र संर्घषमा होस् चाहे आज संविधान कार्यान्वयनमा देखिएका समस्याहरुका विषयमा मेरा खुल्ला विचार र संघर्ष सबै सामु प्रष्ट नै छ ।”

चौरजहारी घटना मानव सभ्यताको खिल्ली उडाउने र मानव सभ्यताको सामु उत्पन्न चुनौतिको रुपमा लिएको भन्दै उनले भनेका छन्, “अपराधी नछुटुन निरअपराधी नपरुण भन्नका लागि घटनाको सत्यतथ्य अनुसन्धान मुख्य कुरा हो । घटनाको छानबिनमा सहयोग गर्न म पुरै प्रतिबद्ध छु ।”

“यस्ता घटनाहरु फेरि पनि नघटुन भन्नका लागि सामान्ती ब्रामनवादी चिन्तन प्रवृतिविरुद्ध बृहत सांस्कृतिक रुपान्तरणको संर्घष आवश्यक छ” उक्त विज्ञप्तिमा उल्लेख छ ।