भक्तपुरमा ई-पासपोर्ट आवदेन सङ्कलन र वितरण कार्य सुरु

२२ मंसिर ०७८, काठमाडौं । आजदेखि भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट ई-पासपोर्ट (विद्युतीय राहदानी)का लागि आवदेन सङ्कलन र वितरणकार्य सुरु गरिएको छ । पहिलो पटक आजदेखि सुरु भएको ई–पासपोर्ट वितरण सङ्कलन कार्यको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शुभारम्भ गरिन् ।

उनले राहदानी विभाग र ललितपुरबाट मात्रै सुचारु भएको विद्युतीय राहदानी वितरण अब भक्तपुरबाट पनि सुरु भएको बताइन् । उनले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) को नयाँ आवेदन बन्द भइसकेकाले अब सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालयमै आवेदन दिन मिल्ने र वितरण पनि त्यहीँबाट गर्ने गरी सेवा सुरु भएको जानकारी दिइन्।

सेवाग्राहीले ई-पासपोर्टका लागि https://emrtds.nepalpassport.gov.np मा आवेदन दिनसक्ने छन् । सेवाग्राहीले ३४ पृष्ठको राहदानीका लागि मात्रै आवेदन दिन पाउने छन् । यसका लागि रु पाँच हजार शुल्क लाग्ने र ढिलोमा १५ दिनभित्र राहदानी पाउन सकिने व्यवस्था गरिएको छ ।