२० भदौ,काठमाडौँ । सर्वोच्च अदालतले हाल नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र नयाँ शक्तिको कानुन विभाग प्रमुख एवम् पूर्वमहान्यायाधिवक्ता मुक्तिनारायण प्रधानविरुद्ध अदालतको अपहेलनासम्बन्धी परेको रिट खारेज गरिदिएको छ ।
सर्वोच्च अदालतका प्रधानन्यायाशीश सुशीला कार्की र वरिष्ठ न्यायाधीश गोपाल पराजुलीसमेतको पूर्ण इजालासले भट्टराई र प्रधानविरुद्ध सर्वोच्चमा दायर गरिएको उक्त अपहेलनाको मुद्दा खारेज गरेको हो ।
पत्रकार डेकेन्द्र थापाको हत्या प्रकरणमा पूर्वप्रधानमन्त्री भट्टराईलाई समेत जोडेर नेपाल डेमोक्रेटिक लयर्स एसोसिएशनका तर्फबाट कोमलप्रसाद इटनीले अदालतको अपहेलनासम्बन्धी मुद्दा दायर गरेका थिए ।
पत्रकार थापाको हत्या आरोपमा माओवादी कार्यकर्ता पक्राउ परेपछि तत्कालीन महान्यायाधिवक्ता प्रधानले द्वन्द्वकालको मुद्दा वृहत शान्ति सम्झौता २०६३ अनुरुप बनेको बेपत्ता छानबिन तथा मेलमिलाप आयोगमार्फत नै समाधान हुने भन्दै अनुसन्धान रोक्न निर्देशन दिएका थिए ।