२ कार्तिक ०८२, काठमाडौं । कर्तव्य पालनको क्रममा बर्दीमा रहेका प्रहरीको ज्यान माथि आक्रमण गर्ने, आगजनी गर्ने, हतियार लुटपाट गर्ने अपराधमा संलग्न एक व्यक्ति पक्राउ परेका छन् ।

दोलखाको शैलुङ गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–३२ जडीबुटी बस्ने वर्ष ४८ को गौतम घिसिङलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
“मिति २०८२/०५/२४ गते भएको प्रदर्शनको क्रममा विभिन्न स्थानहरूमा सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी गर्ने कार्यमा संलग्न रही प्रहरी वृत्त नयाँ बानेश्वरमा आगजनी गर्ने, प्रहरी टोली माथि आक्रमण गरी बर्दी खोल्न लगाई बाग्मती खोलामा सांघातिक आक्रमण गर्ने, कर्तव्य पालनमा खटिएका प्रहरीको हतियार तथा गोलीगठ्ठा लुटपाट गर्ने जिल्ला दोलखा, शैलुङ गाउँपालिका १ घर भइ काठमाडौं महानगरपालिका ३२ जडीबुटी बस्ने वर्ष ४८ को गौतम घिसिङलाई नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव गर्न नहुने कसूरमा दिन ८ (आठ) को म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको,” आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
उक्त विज्ञप्तिमा निज घिसिङ ०७९ असोज ४ गते र ०७९ फागुन १० गते प्रहरी वृत्त गौशालाबाट बैंकिङ कसूरमा मुद्दा दर्ता भई फरार रहेको उल्लेख छ ।














