१२ भदौ ०७४, भैरहवा । रुपन्देहीको भैरहवा भन्सार कार्यालयमा एउटै प्रज्ञापन पत्रबाट दुई वटा मालवाहक गाडी र प्रज्ञापन पत्रमा उल्लेख रहेको भन्दा २६ किसिमका महंगा सामग्रीहरु फेला परेपछि घटनामा संग्लन देखिएका चार जना कर्मचारीहरुलाई विभागीय कारवाही सुरु भएको छ ।
भन्सार विभागका महानिर्देशक रामशरण चिमोरियाले भन्सार घोटाला काण्डमा भन्सार अधिकृत मानबहादुर विश्वकर्मा, नासु सुबास शर्मा, खरिदारद्वय अतुल शर्मा र विनय जोशीको संग्लनता देखिएको बताए ।
उनले आफूहरुले संग्लन कर्मचारीहरुसँग स्पष्टिकरण सोधेको र उनीहरुले आफूहरुको आंशिक गल्ती रहेको स्विकार गरेको बताए । तर, कर्मचारीहरुले प्रज्ञापन पत्रमा आफूहरुलाई झुक्काएर हस्ताक्षर गर्न लगाइएको बताएको महानिर्देशक चिमोरियाले बताए ।
‘कर्मचारीहरुले आफूहरुको आंशिक गल्ती रहेको तर पत्रमा झुक्काएर हस्ताक्षर गर्न लगाइएको स्पष्टीकारण दिएका छन् उनले भने, ‘अब छानबिन पछि घटनाको फाइल मन्त्रालयमा पेश गछौँ र कसुर अनुसार उनीहरु उपर विभागीय कारवाही हुन्छ ।’
भन्सार अधिकृत विश्वकर्मालाई जोगाउन लाग्यो विभाग
स्रोतका अनुसार भन्सारको कर्मचारीको मिलोमतोमा नाङ्गो भ्रष्टाचार भएपनि विभागले भने भन्सार अधिकृत मानबहादुर विश्वकर्मालाई जोगाउन तर्फ लागेको छ ।
विश्वकर्माले मालवाहक गाडीमा रहेको साम्रगी र प्रज्ञापन पत्रमा उल्लेख रहेको विवरण सबै ठिक रहेको भन्दै प्रज्ञापन पत्रमा हस्ताक्षर गरेका थिए । जसलाई चोख्याउन खोजिएको छ ।
घटनाको दिन अधिकृत विश्वकर्माले संचारकर्मीहरुलाई गाडीमा रहेको साम्रगी र प्रज्ञापन पत्रमा उल्लेख रहेको सम्पूर्ण विवरण ठिक रहेको भन्दै प्रतिक्रिया दिएका थिए ।
अख्तियारको भूमिका लज्जास्पद
यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बुटवलले घटनाको समान्य छानबिन मात्र गरेको बताए पनि हालसम्म घटना के पाइयो भन्ने विषय सार्वजनिक गर्न खोजेको छैन ।
भन्सारमा नाङ्गो भ्रष्टाचार भएपनि अख्तियारको सम्पर्क कार्यालय बुटवलले घटनाको समान्य छानबिन मात्र गरेको भन्ने लज्जास्पद प्रतिक्रिया दिएर घटनालाई थामथुम पार्न खोजेको देखिएको सरोकारवालाहरुले बताएका छन् ।