१८ जेठ ०७४, काठमाडौं । निर्वाचन आयोगको निर्देशनमा भरतपुर महानगरपालिका वडा नं. १९ को च्यातिएको मत गणना भएको छ ।
आयोगको निर्देशन अनुसार मुख्य निर्वाचन अधिकारी कविरप्रसाद न्यौपानेसहितको टोलीले उक्त च्यातिएको मत गणना गरेको थियो । निकै कडा सुरक्षाका बिच गरिएको मत गणना गर्दा ९० वटा मत च्यातिएको पाइएको हो ।
मत गणना स्थलमा मुख्य निर्वाचन अधिकृत न्यौपाने, प्रमुख जिल्ला अधिकारी नारायण भट्ट, एसएसपी दीपक थापा, मेयरका दावेदार रेणु दाहाल, देवी ज्ञवाली, उपमेयर तथा वडासम्मको प्रतिनिधिहरुसहित ४६ जनालाई मात्रै भित्र पस्न दिइएको थियो ।
अब मुख्य निर्वाचन कार्यालयले क्षति पुगेको मतको संख्या उल्लेख गरी निर्वाचन आयोगलाई जानकारी गराएपछि पुनः मतदान वा मतगणना गर्ने भन्ने विषयमा आयोगले निर्णय लिने बताइएको छ ।
त्यसै गरी भरतपुर महानगरपालिकको मतगणनाका क्रममा मतपत्र च्यातेको आरोपमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका प्रतिनिधिहरु धरौटीमा रिहा भएका छन्।
न्यायाधीश वासु पौडेलको एकल इजलासले चितवन जिल्ला अदालतले मतपत्र च्यातेको आरोपमा पक्राउ परेका मधुकर न्यौपाने र द्रोण शिवाकोटीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
मुद्दामा सरकारतर्फबाट उदयचन्द्र अधिकारी र प्रतिवादीकातर्फबाट धर्मराज आचार्य, उद्वध लोहनी, गोपिलाल देवकोटा, इन्दु कोइराला, गोविन्द सिग्देल, खगराज कँडेल, श्रीराम दवाडी, लक्ष्मण अधिकारी र दीपक भट्टराईले बहस गरेका थिए ।