भरतपुर घटनामा एमाले र माओवादी केन्द्रका नेताहरु एक अर्कालाई आरोप लगाउँदै

१५ जेठ ०७४, चितवन । भरतपुर महानगरपालिकामा मतगणनाको क्रममा भएको घटनाबारे नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुले एक अर्कालाई आरोप लगाएका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले  भरतपुरमा भएको घटना लोकतन्त्रमाथिको अराजकता र प्रक्रियामाथिको षड्यन्त्र भएको दाबी गर्दै मतगणना रोकिएको स्थानबाट सुरु पुन हुनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका बडा नम्बर १९ मा पुन मतदान हुनुपर्ने माग गरिरहेको बेला ओलीले सोमबार राजधानीमा पत्रकारहरुसँग भनेका छन्, ‘चितवनमा जे भयो त्यो लोकतन्त्रमाथिको अराजकता हो । विधि र प्रक्रियामाथिको षड्यन्त्र हो, पुनः निर्वाचन कुनै पनि हालतमा एमालेले स्वीर्कादैन ।’

यसैगरी नेकपा माओवादी केन्द्रका नेता नारायण दाहालले गल्ती आफूले गर्ने र दोष हामीलाई लगाउने भनी एमालेको सार्वजनिक टिप्पणीप्रति प्रतिक्रिया जनाएका छन् ।

‘हामीले ९० मतअन्तरले अग्रता लिइरहेका थियौं । हाम्रो जित निश्चित देखेपछि एमालेले मतपत्र च्यात्यो, कुल्चियो र मतगणनास्थललाई रणभूमि बनायो ।’ दाहालले भनेका छन्, ‘हामीले मत पत्र च्यात्ने भए त करिब चार हजार मतअन्तरले पछि परिरहेको बेला नै च्यात्ने थियौं । गल्ती आफूले गर्ने र दोष हामीलाई लगाउने ?’

 

भरतपुर महानगरको मतगणनाका क्रममा गएराती एमाले र माओवादी केन्द्रका प्रतिनिधिबीच विवाद  भएसँगै मतपत्र तानातान हुँदा केहि मतपत्र च्यातिएको बताइएको छ । सोहि विवादका कारण त्यहाँको मतगणना अनिश्चित बनेको छ ।

मतपत्र च्यातेको र प्रहरी माथि हातपात गरेको भन्दैजिल्ला प्रहरी कार्यालय चितवनले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार पक्राउ पर्नेमा माओवादीका द्रोणबाबु सिवाकोटी र ईश्वर सापकोटा र एमालेका गङ्गालाल लामा रहेका छन् ।

तपाइको मत