१५ साउन ०७४, काठमाडौं । नेपाल भलिबल संघले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्मान गरेको छ ।
अध्यक्ष प्रचण्डको प्रधानमन्त्रीत्व कालमा भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता प्रदान गरेको भन्दै संघका पदाधिकारीहरुले आइतबार बिहान प्रचण्ड निवास लाजिम्पाटमा प्रचण्डलाई सम्मान पत्रद्वारा सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा पूर्वखेलकुद मन्त्री दलजीत श्रीपालीका साथै संघका अध्यक्ष मनोरञ्जन शर्मा, उपाध्यक्ष निरोसी मास्के, महासचिव जितेन्द्र बहादुर चन्द लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
पछि अध्यक्ष प्रचण्डले नेपालको माटो र हावापानी सुहाउँदो एवं लोकप्रिय खेल भएकाले भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता दिइएको बताउँदै त्यतिले मात्र राज्यको जिम्मेवारी पुरा नहुने बताए ।
‘नेपालको राष्ट्रिय खेलले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रभाव राख्न सकेन । त्यसको बिकल्प के हुनसक्ला भन्ने विचार गरेर नै हामीले भलिबललाई राष्ट्रिय खेलको मान्यता प्रदान गरेका हौं ।’ अध्यक्ष प्रचण्डले भने, ‘भलिबल नेपालको माटो, हावापानी सुहाउँदो र सानो ठाउँमा पनि खेल सकिने लोकप्रिय खेल हो । हामीले राष्ट्रिय खेल त घोषणा गर्याैं । तर, यतिले मात्र राज्यको जिम्मेवारी पुरा हुँदैन । भलिबललाई राष्ट्रिय खेलको रुपमा स्थापित गर्न राज्यले अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता, खेलाडीहरुको विकास र पूर्वाधार निर्माणमा विशेष ध्यान दिन जरुरी छ ।’