भारतका कारण १० दिनयता विद्युत् उत्पादन ठप्प !

१३ भदौ ०७४, नवलपरासी । स्थानीयवासीको चेतावनीसँगै भारतले पश्चिम नहरमा पानी नछोडिदिएका कारण १० दिनयता विद्युत् उत्पादन ठप्प भएको छ ।

सुस्तावासीले गाउँ डुबानमा परेको भन्दै गण्डक नहर बाँधको डिल काटेपछि भारतीय पक्षले मुख्य पश्चिम नहरमा पानी बन्द गरेको हो ।भारतले पानी रोकेका कारण गण्डक जलविद्युत् गृहबाट हुने विद्युत् उत्पादन ठप्प भएको छ ।

पश्चिम नहरको पानीले गुठीसूर्यपुरास्थित जलविद्युत् गृहबाट विद्युत् उत्पादन हुने गर्दछ । १५ मेगावाट विद्युत् उत्पादन हुने गरेकोमा पछिल्लो समय सात मेगावाटमा सीमित भएको छ ।

स्थानीयले बाँधको डिल काटेपछि भारतले पानी रोक्यो

भारतीय पक्षले साइफन र खोला सफा नगर्दा डुबानमा परेको भन्दै सुस्ता गाउँपालिका – १ र २ का स्थानीयले १० दिनअघि पश्चिम नहरमा रहेको बाँधको डिल काटेका थिए । त्यही कारण भारतले उक्त नहरमा पानी रोकेको छ ।

डुबानमा परेको धानसहित अन्य बालीको क्षतिपूर्ति नपाएसम्म नहरमा पानी आउन नदिने चेतावनीपछि भारतले पानी दिन छाडेको हो ।

स्थानीय राइपुरवा खोलाका कारण सुस्ताका छिवनी, फेचुवा, सत्पती, महलवारी र हरखपुरा गाउँ डुबानमा परेका छन् । डुबानबाट भएको क्षतिपूर्ति नपाएसम्म नहरको डिल पुर्न नदिने स्थानीय टुनाखर बस्यालले बताए ।

भारतले पानी छाडे पनि डिल नपुरेसम्म विद्युत् उत्पादन हुन नसक्ने

भारतले नहरमा पानी छाडे पनि डिल नपुरेसम्म पर्याप्त नहुँदा विद्युत् उत्पादन हुन नसक्ने गण्डक भूआर्जन जनसम्पर्क कार्यालय वाल्मीकिनगरका जनसम्पर्क अधिकारी सञ्जय मिश्रले जानकारी दिए ।

स्थानीयको चेतावनीका कारण भारतले नहरमा पानी नदिएको अधिकारी मिश्रले बताए । त्यही कारण १० दिनयता विद्युत् उत्पादन ठप्प भएको उनले सुनाए ।

तपाइको मत