भारतको २२ राज्यमा लकडाउन, नेपाल-भारत सीमा बन्द !

१० चैत ०७६, काठमाडौं । भारतले २२ राज्यमा मार्च ३१ सम्म ‘लकडाउन’ र नेपाल-भारत सीमा यात्रुका लागि बन्द गरेको छ ।

भारतको राजधानी नयाँ दिल्लीसहित २२ राज्यमा मार्च अन्त्यसम्म कोरोना भाइरस संक्रमण फैलिन नदिन लकडाउन गरिएको बीबीसीले जनाएको छ ।

भारतको राजधानी दिल्लीमा सोमबार बिहान ६ बजेदेखि लक डाउन लागू भएको हो । तर, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले उक्त अवधिमा अत्यावश्यक सेवाहरू भने सञ्चालनमा रोक नलगाइने बताएका छन् ।

यसअघि आइतबार भारतमा बिहानदेखि बेलुकासम्म ‘जनता कर्फ्यू’ लागू गरिएको थियो ।

यता नेपालमा, आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले एक हप्तासम्म चीन र भारतसँगको सबै सीमा नाका बन्द गर्ने निर्णय गरिसकेको छ ।

शनिबार बसेको कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकमा मन्त्रीहरुले नै भारत सहमत नभए एकतर्फी रुपमै भएपनि नेपालले सीमा नाका बन्द गर्नुपर्नेमा जोड दिएका थिए ।