४ साउन ०७४, काठमाडौं । भारतले नेपाल सरकारलाई हुलाकी राजमार्ग अन्तरगतको १० वटा सडक निर्माणका लागि कूल बजेटको २५ प्रतिशत रकम अग्रिम भुक्तानी गरेको छ ।
बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका आयोजित एक कार्यक्रमका बीच भारतले सडक निर्माणका लागि लाग्ने कूल बजेटको २५ प्रतिशत रकम ‘झण्डै २४ करोड रुपैयाँ’ अग्रिम भुक्तानी गरेको हो ।
भारतीय राजदूत मन्जिवसिंह पुरीले मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई १४ करोड ८३ लाख ६७ हजार ९ सय ७७ भारतीय रुपैयाँको चेक हस्तान्तरण गरे । यो नेपाली रुपैयाँ २३ करोड ७३ लाख ८८ हजार ७ सय ६३ हुन्छ ।
नेपाल र भारत सरकारबीच हुलाकी राजमार्ग अन्तरगतको १० वटा सडक निर्माण भारत सरकारले गर्ने समझदारी भएको थियो ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव कार्कीले भारतले हुलाकी राजमार्ग अन्तरगतको १० वटा सडक निर्माणका लागि २५ प्रतिशत रकम अगि्रम भुक्तानी गरेर सहयोग गरेकोमा आभार व्यक्त गरेका छन् ।