भारतले नेपालीभूमि मिचेको भन्दै अखिल क्रान्तिकारीद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । भारतले लिपुलेक, कालापानी क्षेत्र मिचेर सडक निर्माण गरेर नेपालको राष्ट्रियतामाथि हस्ताक्षेप गरेको भन्दै अखिल क्रान्तिकारीले संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

अखिल क्रान्तिकारीका उपत्यका क्षेत्रीय समन्वय समितिका संयोजक हर्कबहादुर बिकले शुक्रबार विज्ञप्ति जारी गरेर बैशाख ३१ गतेसम्म गरिने संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।

उनले कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि विश्व लकडाउनमा भएको मौका छोप्दै भारतले नेपालीभूमि मिचेर चीनको सीमा मानसरोबर जोड्ने सडक निर्माण गरेर नाङ्गो हस्तक्षेपलाई बढाएको बताएका छन् ।

“कारोना महामारीका कारण बिश्व लकडाउनमा रहेको मौका छोपी नेपालको लिपुलेक, कालापानी क्षेत्रमाथि भारतीय साम्राज्यवादद्वारा नेपालको राष्ट्रिय स्वाधीनतामाथिको हस्तक्षेपलाई अरु बढाएको छ । गत कार्तिक महिनामा भारतद्वारा लिपुलेकको ३७२ वर्ग किलोमिटर सीमा अतिक्रमण गरेपछि नेपालका सबै देशभक्त तथा राष्ट्रवादीहरु आन्दोलित भइरहेको बेला फेरि भारतीय शासक वर्गले मानसरोबर जोड्ने सडक निर्माण गरी उद्घाटन गरेको छ । भारतका रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत उक्त सडकको उद्घाटन गरेका छन् । यो नेपालको राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता र सार्बभौम सत्तामाथिको नाङ्गो हस्तक्षेप हो” विज्ञप्तिमा भनिएको छ ।

यस विषयमा नेपाल सरकार राष्ट्र मन्त्रालयले शनिबार प्रेस विज्ञप्ति जारी गरेर भारतको उक्त कार्यको विरोध गर्दै ऐतिहासिक दस्तावेज र तथ्यका आधारमा कुटनीतिक माध्यमबाट सीमा समस्याको हल खोजिनु पर्ने बताएको छ ।