१४ फागुन ०७५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग भएको महाकाली सन्धी कार्यान्वयनमा जोड दिन सरोकारवाला निकायलाई निर्देशन दिएका छन् ।
काठमाडौंमा बुधबारबाट सुरु हुन लागेको नेपाल र भारतका विज्ञहरूको संयुक्त तेस्रो बैठकमा सहभागी हुने सरोकारवालाहरूलाई मंगलबार निर्देशन दिँदै प्रधानमन्त्री ओलीले दुई देशबीच छलफल गर्दा राष्ट्रिय हित हेर्नुपर्ने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले २३ वर्षअघि महाकाली सन्धी अनुसार नेपालले चाँदनी–दोधारा क्षेत्रमा पाउनु पर्ने १० घनमिटर प्रतिसेकेण्ड (३५० क्यूसेक) पानी हालसम्म नपाएकोले यस विषयलाई गम्भिरताका साथ उठाउनु पर्ने बताए । ‘हाम्रो पहिलो प्राथमिकता सन्धीको कार्यन्वयन हो । सन्धी अनुसार नेपालले १० क्यूमेक्स पानी पाउनु पर्दछ’, प्रधानमन्त्री ओलीले भने,‘सिरानबाट नहर बग्ने तर हाम्रा खेत बाँझै रहने स्थिति अब हुनु हुँदैन।’
२०५२ माघ १९ गते भएको महाकाली सन्धीको धारा ४ अनुसार नेपालको चाँदनी–दोधारा क्षेत्रको सिंचाइका लागि भारतले १० घन मिटर प्रति सकेण्ड पानी उपलब्ध गराउने सम्झौतालाई कार्यन्वयन गराउन भारतलाई तत्पर गराउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।
जल तथा ऊर्जा आयोगको सचिवालयले पञ्चेश्वर बहुउद्देशीय आयोजनाको कार्यान्वयनका सम्बन्धमा प्रधानमन्त्रीलाई जानकारी गराउन सिंहदरबारमा बैठक आयोजना गरेको थियो ।













