९ असार ०७४, बैतडी । यही असार १४ गते हुन गईरहेको स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर भारतसँग जोडिएको सीमानाका ७२ घण्टा बन्द गरिने भएको छ ।
दार्चुलामा शुक्रबार भएको संयुक्त सीमा सुरक्षा बैठकमा चुनावलाई मध्यनजर गरेर सीमा नाका बन्द गर्ने सहमति भएको बैतडीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिएका छन् ।
स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर भारतको पिथौरागढ जिल्लाका डि.एम, दार्चुला र बैतडीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुको बैठकमा नेपालमा हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि सहयोग आदानप्रदान गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
‘खास गरेर स्थानीय तहको निर्वाचनलाई शान्तपूर्ण रुपमा सम्पन्न गर्नका लागि दुवै देशका सुरक्षा अधिकारीका बीचमा छलफल भयो । चुनावलाई शान्तपूर्ण रुपमा सम्पन्न गराउन भारतले गर्न सक्ने सबै सहयोग प्राप्त हुने प्रतिबद्धता समेत आयो’ पौडेलले भने ।
बैठकमा भारतको तर्फबाट पिथौरागढ जिल्लाका डिएम सि रवीशंकरको नेतृत्वमा त्याहाँका सुरक्षा प्रमुख, सीमा सुरक्षा बलका प्रमुख, भन्सार र वन कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो भने नेपालका तर्फबाट बैतडी र दार्चुलाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, अनुसन्धान अधिकृतहरुको सहभागिता रहेको थियो ।