२५ भदौ ०७४, जनकपुरधाम । तेस्रो चरणमा हुन गइरहेको दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनको प्रचार-प्रसारमा आचारसंहिता विपरीत भारतीय नम्बर प्लेटको गाडीको प्रयोग बढेको छ ।
यहाँ सबै पदका उम्मेदवारहरु निर्वाचन आयोगको आचार-संहिता विपरीत भारतीय नम्बर प्लेटका गाडीमा सवार भई प्रचार-प्रसारमा लागेका देखिन्छन् ।
सुरक्षा निकायबाट समेत भारतीय नम्बर प्लेटका गाडीको प्रयोग
उम्मेदवारले मात्र नभई सुरक्षा निकायले समेत निर्वाचन गतिविधिलाई लक्षित गरी भारतीय गाडीको प्रयोग गरिरहेका छन् ।
जिल्ला निर्वाचन कार्यालय धनुषाकी प्रमुख पुष्पा झाले सरकारी निकायलाई निर्वाचन प्रयोजनका लागि नेपाली नम्बर प्लेटका गाडीलाई उच्च प्राथमिकतामा राख्ने र यदि नेपाली नम्बर प्लेट नपाएको खण्डमा भारतीय गाडी प्रयोग गर्न सक्ने अनुमति रहेको बताइन् ।
झाले राजनीतिक दललाई भने विदेशी नम्बर प्लेटका गाडी गुडाउन आचारसंहिताले नदिने बताइन । उनले यो प्रक्रिया नियन्त्रण गर्न निर्देशन दिइसकेको र यस्ता गतिविधि नरोकिए आफूहरु कारबाही प्रक्रिया अघि बढाउन विवश हुने बताइन् ।
गाडीमा साउन्डबक्स राखेर चर्को गीत बजाउँदै उम्मेदवारले प्रचार-प्रसार गरिराख्दा समेत निर्वाचन आयोगको तर्फबाट कुनै अनुगमन भएको देखिदैन ।
एक जना उम्मेदवारले १० देखि १५ वटासम्म सवारी साधन प्रयोग
जिल्लामा मेयर र उपमेयरका एक जना उम्मेदवारले १० देखि १५ वटासम्म भारतीय र नेपाली नम्बर प्लेटका सवारी साधन प्रयोग गरिरहेका छन् ।
त्यसैगरी स्वतन्त्र उम्मेदवारले पनि आफ्नो चुनाव चिन्ह अंकित झण्डा लगाएर भारतीय नम्बर प्लेटका गाडी प्रयोग गरिरहेका छन् । नेपाली नम्बर प्लेटको गाडी पाउनै समस्या भएपछि भारतीय नम्बर प्लेट प्रयोग गर्न बाध्य भएको उम्मेदवारहरुले बताएका छन् ।
आयोगले जारी गरेको स्थानीय तह निर्वाचन आचारसंहिता २०७३ मा सवारी साधन प्रयोग गर्दा पालना गर्नुपर्ने आचरणमा राजनीतिक दलले निर्वाचन अधिकृतको अनुमति लिई एउटा जिल्लामा बढीमा दुईवटा चारपांग्रे हलुका सवारी साधनमात्र प्रयोग गर्न पाउने उल्लेख गरेको छ ।