२१ भदौ, काठमाडौं । प्रहरीले सात जना व्यक्तिको हत्या गरेको अारोपमा मस्तकिम भनिने भारतीय नागरिक रईस मियाँलाई आइतबार पक्राउ गरिएको भएपनि सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

तस्बिर : रईस मियाँ
सप्तरीमा ४ र सुनसरीमा एकै परिवारका ३ जनाको हत्या गरेको अभियोगमा ‘सिरियल किलर’ मियाँलाई विशेष सुराकीका आधारमा खटिएको सप्तरी प्रहरीको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट पक्राउ गरेको हो ।
भारतको बिहार मधुवनी जिल्ला लौकहा बगमरियाका रईस मियाँ नेपाली राहदानीसहित त्रिभुवन विमानस्थलबाट विदेश उड्ने तयारीमा रहेका बेला पक्राउ गरिएको सप्तरीका प्रहरी प्रमुख एसपी भीमप्रसाद ढकालले जानकारी दिए ।
एसपी ढकालका अनुसार रईसमाथि टिकुलिया गाविस–७ घर भई हाल कुशहा–६ बस्ने सकिल हुसेनसँग मिलेर सकिलकै पत्नी, सासू र ससूराको समेत हत्या गरेको आरोप छ । रईससँग मिलेर हत्याका घटनामा संलग्न हुँदै आएका सकिल भने हाल साउदी अरेबियामा रहेको प्रहरीले जनाएको छ । उनलाई पनि पक्राउ गर्न प्रक्रिया अघि बढाइएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार २०६९ साल आसोज १० मा रईसले सप्तरीको कल्याणपुरका कोइली खातुक र उनका श्रीमान् सहबुत मियाँको हत्याको आरोप छ । यस्तै सप्तरीकै जन्डोलमा २०७० मंसिर ६ मा तुलरीदेबी शाह र २०७० साल चैत १ मा त्रिकोलकी निर्मलादेबी शाहको हत्या गरेको रईसमाथि आरोप छ ।
सप्तरीको सारस्वर गाविस–७ बाट नेपाली नागरिकता लिएर जिल्लामा श्रृंखलाबद्ध हत्याका घटनामा संलग्न रईसमाथि कर्तव्य ज्यान मुद्दा अदालतमा दायर गरिएको एसपी ढकालले जानकारी दिए ।