६ पुस ०७४, भक्तपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पहिलो पार्टी बन्न सफल भएकामा बधाई दिएका छन् ।
आज बिहीबार दिउँसो एमाले अध्यक्ष ओलीलाई भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन गरी हालै सम्पन्न निर्वाचनमा वाम गठबन्धनले ठूलो सफलता प्राप्त गरेकामा खुशी व्यक्त गर्दै बधाई दिएका हुन् ।
एमाले केन्द्रीय सचिवालय सचिव प्रदीपकुमार ज्ञवालीले जारी गरेको विज्ञप्तिमा भारतीय प्रधानमन्त्री मोदीले ओलीसमक्ष नेपालमा तीन वटै निर्वाचन सम्पन्न भएकामा खुशी व्यक्त गरेको उल्लेख छ ।
निर्वाचनको सफलताले नेपालमा लोकतन्त्रलाई सुदृढ बनाएको साथै बाम गठबन्धनको जीतले नेपालमा राजनीतिक स्थायित्व कायम भई आर्थिक विकास हुने विश्वास व्यक्त गरिएको जनाइएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले सरकार गठनलगत्तै भारत भ्रमणका लागि अध्यक्ष ओलीलाई निमन्त्रणा गर्दै आफू स्वागत गर्न आतुर रहेको र नयाँ सरकारसँग सहकार्य गर्न प्रतीक्षारत रहेको बताएका छन् ।
जवाफमा एमाले अध्यक्ष ओलीले भारतीय प्रधानमन्त्रीलाई आफूलाई प्राप्त बधाई तथा शुभकामनाका लागि धन्यवाद दिँदै आफ्नो ध्यान राजनीतिक स्थायित्व, लोकतन्त्रको सुदृढीकरण, सुशासन र आर्थिक विकासमा केन्द्रित रहेको बताएका छन् ।
साथै, भारत र चीनसँग शान्ति र समृद्धिका लागि सहकार्य गरिने बताउँदै ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई पनि नेपाल भ्रमणका लागि निमन्त्रणा दिएका छन् । सरकार गठनलगत्तै नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा-पत्र पठाइने बताए ।













