१ माघ, काठमाडौं ।
सशस्त्र सीमा सुरक्षा प्रहरी बललाई बाराको बरियारपुरस्थित गढीमाई दर्शन गर्न भन्दै सीमावर्ती आदापुरबाट स्थानीय छोटी नाका मटिअर्वा हुँदै तीन जना जुनियर प्रहरी अधिकृतसहित बोलेरोमा सात–आठ जना भारतीय प्रहरी सिभिल ड्रेसमा नेपाल प्रवेश ग¥यो । तर, उनीहरु भीडभाड छिछोल्दै सिधै १५ किमी उत्तर सदरमुकाम कलैया प्रवेश गरे । चोकमा रहेका नेपाल प्रहरीले वास्ता नगरेपछि उनीहरु कलैया–५ स्थित जानकी हल चोकमा पुगे ।
भारतीय प्रहरी भारतको सितामढीबाट भागेर ‘सेल्टर’ मा बस्दै आएका मिठु भन्ने पप्पु साहको किराना पसल अगाडि पुगे । पप्पु र भारतीय प्रहरी आमनेसामने परे । पप्पुले प्रहरीलाई चिन्न बित्तिकै भाग्न खोज्यो । तर भारतीय प्रहरीको टोलीले उनलाई समात्न सफल भए । दुई प्रहरीले दुबै हात समाउँदा पप्पुले ‘बचाओ बचाओ’ भन्दै गुहार माग्न थाले । त्यतिकैमा सिबिलमा रहेका सबै भारतीय प्रहरीलाई स्थानीयले घेरा हाले ।
अपहरण गर्दैछ भन्दै पप्पुसहित उनका आमाले गुहार माग्दै रोइकराई गर्न थालेपछि भीड झन् बढ्यो । भीडमै पप्पुकी आमाले बल प्रयोग गरी प्रहरीको हातबाट छोरालाई छुटाइदिइन् । त्यसपछि पप्पु फरार भए । सिभिलमा रहेका भारतीय प्रहरीले भीडलाई ‘यह ‘पप्पु’ ‘सुटर’ है, हम लोग भारतका पुलिस है, इनको गिरफ्तार करने आए है, हमरा आई कार्ड देखिए’ भन्दै स्थानीयको सहारा खोज्दै गर्दा नेपाल प्रहरी आइपुग्यो । पछि भारतीय प्रहरीलाई नेपाल प्रहरीले सुरक्षा दिँदै लगेर केहीबेर सोधपुछ गरे । भारतीय प्रहरीले सितामढीका एसपीसित उनीहरु आफैंले बोकेका एनसेल मोबाइलबाट नेपालका सुरक्षा अधिकारीसित कुरा गराई दिएपछि नेपाल प्रहरीले उनीहरुलाई छाड्यो ।
भारतीय प्रहरीको भनाइ उद्धृत गर्दै नेपाल प्रहरीका एक सुरक्षा अधिकारी भन्छन् ‘पप्पु भारतमा ‘मोस्ट वान्टेड’ छन्, उनीमाथि ३ वटा हत्या र दुइटा अपहरणपछि फिरौती असुलीको आरोप छ । त्यसैले पक्रिन आए पनि हामीसित समन्वय गरेको भए हतियारविहीन रहेका उनीहरु सफल हुने थियो । गुपचुप आएर समाउँदा असफल भएर फर्केको उनले बताए । कान्तिपुर/डिसी नेपाल डटकमबाट ।